गायिका अप्सरा शाक्य ( काप्री) को गीति एल्बम ‘कति राम्रो’ र तीजको ‘झल्को’ नामक दुबै कृति सार्वजनिक गरिएको छ । गायिका शाक्यको शब्द, संगीत र स्वरमा सजिएका दुबै कृतिमा नेपाली लोक, कला, साहित्य तथा वेश भूषालाई समेटिएको छ । ती एल्बममा लोक आधुनिक गीत समेत समावेश गरिएको छ । कति राम्रो नामक गीति एल्बममा अब म त छैन रे सानी, कति राम्रो सुहायो भन्छन, म त सान्नानी गाउँछु गीत, काली हो या गोरी हो र तिमीलाई मेरो मायाले शीर्षकका गीत छन् ।
झल्कोमा नेपाली महिलाको महत्वपूर्ण पर्वका रुपमा स्थापित तीजको महत्वकाबारेमा सन्देश दिन खोजिएको छ । त्यसमा गीत तथा भिडिओ छायांकन गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् वरिष्ठ गीतकार शंकरप्रसाद कोइरालाले एल्बम विमोचन गर्दै नेपाली पनलाई समावेश गरी बनाइएका शाक्यका कृति लोक भाषा तथा संगीतको जगमा आधारित रहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रवासमा बस्ने नेपालीले सुगम संगीत तथा साहित्य, भाषालाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गरेकामा खुसी व्यक्त गर्दै सफल गायक हुनका लागि कठिन रहेको अवस्थामा गायिका शाक्यले प्रकाशन गरेको दुई वटमा कृतिले नेपाली संगीत क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गायिका शाक्यले आफू विदेशमा रहँदा स्वदेशी भुमि तथा संस्कृतिको माया र सम्झनामा ती एल्बम निकालेको जानकारी दिँदै आगामी दिनमा नेपाली भाव झल्कने गीति एल्बम तथा साहित्य सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठले गायिका शाक्यको कृतिमा देशको ग्रामीण भेगको बोलिचाली तथा नेपाली मौलिकता पाइने बताउनुभयो । यसअघि करिब ११ वर्ष अगाडि गायिका शाक्यको अप्सरा नामक गीत एल्बम प्रकाशित भएको थियो । उहाँ करिब सात वर्षदेखि वेलायतमा बस्दै आउनुभएको छ ।