गएको बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेललाई लेखक रामशरण पाठकले निर्देशन गर्ने भएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रका निर्माता सन्तोष सेनले ‘प्रेम गीत २’ का निर्देशकको सार्वजनिक गरेका हुन् । पाठकले यसअघि सेनले नै निर्माण गरेका दुई चलचित्र ‘चंखे शंखे पंखे’ र ‘प्रेम गीत’ को स्क्रिप्ट लेखेका थिए । जन्मदिनको केक काट्ने कार्यक्रममा निर्माता सेनले ‘प्रेम गीत २’ मा प्रेम गीतकै हिरो प्रदीप खड्का र संगीतकार अर्जुन पोखरेल दोहोर्याउने पनि बताएका छन् । यो चलचित्रमा प्रेम गीतकी नायिका पुजा शर्मा हुने छैनन् । निर्माता सेनले दिएको जानकारी अनुसार अहिले चलचित्रका लागि नयाँ नायिकाको खोजी भइरहेको छ । जन्मदिन मनाउने क्रममा सन्तोष सेनले निर्देशक पाठक र नायक प्रदिप खड्कालाई पारिश्रमिक स्वरुप चेक हस्तान्तरण गरेका थिए । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’पछि निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मासँग निर्माता सन्तोष सेनको मनमुटाब सुरु भएको थियो । त्यसैको फलस्वरुप निर्माता सेनले चलचित्र ‘प्रेम गीत’ निर्देशनको जिम्मेवारी पाठकलाई दिएका हुन् भने नायिकाको खोजी अहिले निर्माण पक्षले गरिरहेको छ । आउँदो कात्तिक देखि चलचित्रको छायाँकन तीन देश म्यानमार, थाईल्याण्ड र नेपालमा हुनेछ ।