भुवन केसी स्टारर फिल्म मिस्टर नेपाली रिलिजको तयारीमा छ। फिल्मले कात्तिकको २९ गतेलाई रिलिज मिति पक्का गरेको छ। रिलिज मिति नजिकिएसँगै निर्माण पक्ष अहिले फिल्मको प्रचारमा लागिरहेको छ।

‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन्। यो फिल्ममा भुवन डबल क्यारेक्टरमा प्रस्तुत छन्। उनले फिल्ममा पिता र छोराको भूमिकामा देखिँदैछन्।
नायक केसी भन्छन्–‘फिल्ममा म मुख्य नायक होइनँ। यसमा मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ। पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ।’
फिल्ममा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ। फिल्मको कथा साहिलको वरिपरी घुमेको छ। भूवनले भने–‘यो फिल्मले राष्ट्रियताको कथा भन्छ। विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा फिल्म बनेको छ।’
फिल्ममा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास भुवनले गरे। देव भुषालको निर्देशनमा तयार भएको फिल्ममा प्रेमराज दाहालको लगानी रहेको छ।