लसएञ्जल्स । कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर अहिले भने यी गायिका कर छलीको मामलाका कारण चर्चामा छिन् ।
स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्धाको बाटो तय गरेको छ । शाकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले त्यसलाई स्वीकारेन ।
गायिका साकिराको कर छलीको मामला पहिलोपटक सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यो समयमा स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानी वापत १ दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए । यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन् ।
‘यसको पर्याप्त प्रमाण छ कि साकिराले राज्यमा कर तिर्ने प्रतिबद्धता पालन गरेकी छैनन् । यस्तोमा उनीमाथि मुद्धा चलाउन सकिनेछ । यदी गायिकामाथिको आरोप सही साबित भयो र उनी दोषी ठहरिन भने जरिवानासँगै कारावासको सजाय भोग्न तयार हुनुपर्नेछ’, अदालतले भनेको छ ।
साकिरामाथि कर छलीको मामला सन् २०१९ को जूनमा अदालतमा दर्ता भएको थियो । गायिकाले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । उनले आफूलाई कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी गरेकी थिइन् ।
तर अहिले पुनः कर छलीको विषय साकिराका लागि टाउको दुखाईको विषय बनेको छ । यद्यपि पहिलोपटक न्यायाधिसले अपराधीलाई काराबासको सजायमा माफी दिनसक्ने जनाइएको छ । तर यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।