प्रधानमन्त्रीनिवासमा चर्काचर्की परेको चार दिन नबित्दै गृहमन्त्री विमलेन्द्र निधी र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि भनाभन भएको छ । शुक्रवार संसदको एक समितिमा निधी र रावलबीच पुनः चर्काचर्की परेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भारत र चीन पठाइएका विशेष दूतहरुलाई छलफलमा बोलाइएका बेला निधीले एमाले सांसदहरुलाई मार्क्सवाद सिकाउन खोजेपछि विवाद भएको सांसद चुडामणि जंगलीले बताए ।
बैठकमा एमालेको नाम नलिई निधीले ‘कुनै पार्टीको बैठकमा चीनमा विशेष दूत पठाइनु उपयुक्त र भारतमा पठाउनु अनुपयुक्त थियो भन्ने चर्चा चलेछ’ भनेपछि रावल प्रतिवादमा उत्रिए ।
रावलले एमालेको बैठकमा त्यस्तो छलफल नभएको र भारतीय प्रधानमन्त्रीलाई पठाइएको चिठी सार्वजनिक हुनुपर्छ भन्ने संस्थागत निर्णय भएको बताए । उनले मन्त्री निधी संसदीय समितिमा दलको बैठकमा जस्तै गरी प्रस्तुत भएको भन्दै आपत्ति जनाए ।
‘यो पार्टीको बैठक होइन, संसदीय समितिका बैठक हो । मन्त्रीले जवाफ दिँदा कुनै पार्टीलाई होच्याउने र आरोपित गर्ने हिसाबले बोल्न पाइन्न’ रावलले बैठकमा भने । उनले पार्टीगत हिसाबले बोल्ने हो भने आफू निधीसँग घण्टौं बहस गर्न तयार रहेको समेत बताएका थिए ।
एमालेका अर्का सांसद चूडामणि जंगलीले निधीका पिता महेन्द्रनारायण निधी देशभक्त योद्धा थिए भन्दै छोराले भने नेपालको खाएर विदेशीका लागि काम गर्ने गरेको आरोप लगाए ।
निधीले त्यसको प्रतिवाद गर्दै जंगलीको भनाइ रेकर्डबाट डिलिट गर्न सभापति प्रभु शाहलाई आग्रह गरे । उनले मार्क्सवाद लेनिनवाद आफूले पनि अध्ययन गरेको बताउँदै राष्ट्रवादको बहस गर्न तयार रहेको बताए ।
बैठकमा मन्त्री निधीले भने-मार्क्स, लेनिन र उनीहरुका चेलाको राष्ट्रवादबारे म कुनै शंका गर्दिँन । तर म वीपीको चेला हुँ, वीपीको चेलालाई राष्टवादको पाठ आवश्यक छैन ।
सवाल-जवाफकै क्रममा निधी र रावल दुवै उत्तेजित भए । रावलले मन्त्री भएर संसदीय मर्यादामा रहन निधीलाई पटक-पटक सुझाएको जंगलीले बताए ।
निधीसँगको सवाल-जवाफ सकिएपछि समितिको निर्णयको मस्यौदा समेत सच्याउन रावले सभापति प्रभु साहलाई बाध्य पारे । मस्यौदामा दुई देशसँगको सम्बन्ध अझ सुमधुर बनाउन सरकारलाई निर्देशन दिने भन्ने थियो ।
तर, रावलले अहिले सम्बन्ध कहाँ बिगि्रएको छ ? भन्दै पञ्चशीलको सिद्धान्त, राष्ट्रसंघको बडापत्रअनुरुप चीन-भारत लगायत सबै मुलुकसँगको सम्बन्ध समधुर बनाउने शब्द राख्न लगाए ।
यस क्रममा पनि रावलको प्रतिवादमा कांग्रेस सांसद प्रेमकिशोर साह तेली उभिन खोजेका थिए । तर, रावलले ‘म तपाईसँग होइन, सभापतिसँग कुरा गर्दैछु’ भनेपछि साह चुप लागे । -अनलाइनखबर