दाइजोको लोभमा तोकिएको मितिमा जन्ती नलैजाने पर्साको सबैठवा–५ का अमरुल्लाह मिया प्रहरीको हस्तक्षेपपछि विवाह गर्न बाध्य भएका छन् ।
भारत बिहारको मैनाटार थाना, इनर्वाकासमसुल हक मियाँकी छोरी आम्ना परवीनको बिहे पर्सा सबैठवा गाविस–५ का अमरूल्लाह मियाँको छोरा नसीम अख्तरसँग तय भएको थियो ।
गएको साउन १५ गते बिहे हुने निधो भएर केटीपक्षले केटापक्षलाई ९० हजार नगद र नेपालमा रहेको ३ कठ्ठा जग्गा पास गरेका थिए ।
तर अमरुल्लाहले माग बमोजिमको रकम समयमा नआएको भन्दै साउन १५ मा जन्ती लिएर गएनन् । वाचा गरेका बाहेक अन्य थप माग समेत पूरा गर्ने प्रतिबद्धता जनाएपनि केटा पक्ष विवाहका लागि नआएपछि केटीका बुवा समसुल हकले इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गर्नुभएको थियो । उजुरीको आधारमा प्रहरीले केटा र उनको बुवालाई भदौ १५ मा पक्राउ गरेको थियो ।
पक्राउ परेपछि अमरूल्लाह छोराको बिहे तय भए अनुसार समसुलकी छोरीसँग विवाह गर्न सहमत भएका हुन् । प्रहरीले हिरासतमा रहेका अमरूल्लाहको छोरासँग बिहे गर्न समसुलकी छोरीलाई भारतबाट झिकायो र पोखरियास्थित जामे मस्जिदमा भदौ १७ गते शुक्रबार मुस्लिम रीति अनुसार निकाह (विवाह) गरायो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहले लेनदेनको विषय प्रहरीलाई थाहा नभएको तर बिहेको मिति तोकेर जन्त नगएको कसुरमा अमरूल्लाह र उनका छोरा नसीम अख्तरलाई पक्राउ गरिएको र उनीहरू दुवै बिहे गर्न राजी भएपछि प्रहरीको रोहबरमा निकाह गराईएको बताउनुभयो । -उज्यालो