बलीउडका एक यस्ता अभिनेता, जसले एकसमय बलीउडमा एकछत्र राज गरेका थिए । भन्ने गरिन्छ उनले एकसमय बलीउड अभिनेता अमिताभ बच्चनलाई समेत टक्कर दिएका थिए । ति बलीउड अभिनेता हुन् शत्रुघन सिन्हा । लामो समय बलीउड चलचित्रमा आफ्नो सुख दुख बेथित गरेका शत्रुघन सिन्हा अहिले नेपालमा छन् । मंगलबार नेपाल आएका शत्रुघन सिन्हाले वुधबार राजधानीमा आयोजित एलजी फिल्म अवार्डमा केही आफ्नो विचार राख्ने क्रममा उनले सारा नेपालीलाई सम्बोधन गर्दै निकै मार्मिक कुरा गर्न भ्याए ।
उनले आफु धेरै पटक पशुपतिनाथको दर्शनका लागि नेपाल आएको बताउँदै नेपालीको मायाले आफु सधै खामोश हुने गरेको बताए । उनले भने -‘म तपाईहरुको प्यारो भाषा नेपालीमा कुरा गर्न सक्दिन किनकी मलाई नेपाली भाषा बोल्न आउँदैनन् तर म नेपाली भाषालाई निकै सम्मान गर्छु ।’
उनले आफु अभिनित एक चलचित्रको निकै हिट डाइलग ‘खामोश’ भन्दै स्टेज चढ्दा कार्यक्रममा उपस्थित सबैले ताली बजाए । उनले अगाडी बोल्दै भने -‘म अहिले विरामी छु तर पनि तपाईहरुको मायाले गर्दा यहाँ आएको छु । अहिले विरामी भएका कारण मेरो आवाज पहिला जस्तो छैन्, जुन तपाईहरु पहिलाको जस्तो सुन्न चाहनुहुन्छ । म कुनै पनि महत्वपूर्ण काम गर्नु परे सुरुमा पशुपतिनाथको चरणमा आएर मात्र अगाडी बढछु । आज पनि म पशुपतिनाथको दर्शन गरेपछि यहाँ आएको हुँ ।’ उनले आफ्नो फिल्म यात्राको विषयमा बोल्दै थपे- ‘मैले अहिलेसम्म कसैको नक्कल गरिन् किनकी यहाँ धेरै नक्कल गर्नेछन् । तपाई आफु भित्र यति शक्ति ल्याउनुहोस् कि अरुहरुले तपाईको नक्कल गरोस् ।’
उनले नेपालसँगको आफ्नो सम्बन्ध पुरानो रहेको पनि बताउँदै आफु अभिनित चलचित्र ‘आँधी तुफान’ को छायाँकनको क्रममा १ महिना नेपाल बसेको पनि स्मरण गरे । शत्रुघन सिन्हा बलीउड अभिनेतासँगै भारतीय जनताका पार्टीका सांसद हुन् भने पूर्व मन्त्री समेत भइसकेका छन् ।