आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको कमेडी चलचित्र ‘छक्का पन्जा’ ले विहान र दिउँसोको शोमा दर्शकहरुको उल्लेख्य साथ पाएको छ । देशभर गरि ८० बढी हलहरुमा प्रदर्शन भएको चलचित्र ‘छक्का पन्जा’ सिंगल हलहरुमा हाउसफुल रहेको काठमाण्डौं वितरक गोपाल कायस्थले जानकारी दिए । प्राप्त जानकारी अनुसार चावाहिलस्थित गोपिकृष्ण मुभिजमा बिहानी शोमा मात्रै दुई वटा हल हाउसफूल भएका छन् । गोपि र नम हाउसफूल भएपछि अर्को हलको पनि टिकट काउन्टर खुलाइएको थियो । आफुले पहिलो पटक निर्देशन गरेको चलचित्र छक्का पन्जा सफल भएपछि निर्देशक दीपाश्री निरौला निकै खुसी भएकी थिइन । चलचित्र ‘छक्का पन्जा’ प्रत्येक हलमा हाउसफुल भएपछि उनले दर्शकको माया नै ठुलो कुरो भन्दै दर्शकको मायाप्रति आभार पनि व्यक्त गरिन् । शुक्रबार विहान र दिउँसो चलचित्रकी निर्देशक दीपाश्रीसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, प्रियंका कार्की लगाएत राजधानीका विभिन्न सिंगल हलहरुमा गएर दर्शकहरुलाई धन्यवाद व्यक्त गरेका थिए । खबरका अनुसार चलचित्र ‘छक्का पन्जा’ को विजनेश मल्टिप्लेक्समा सन्तोषजनक छ भने सिंगल थ्रिएटरमा आक्रामक रहेको छ । यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ ।