गएको बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रेमगीत’ को सिक्वेल यस बर्ष निर्माण हुँदैछ । केही दिन अगाडी मात्र चलचित्रका निर्माता सन्तोष सेनले चलचित्रका लागि ‘प्रेम गीत’ कै हिरो नायक प्रदीप खड्का र स्क्रिप्ट राईटर रामशरण पाठकलाई निर्देशकमा फाइनल गरेका थिए । त्यही क्रममा शुक्रबार चलचित्रका निर्माता सेनले नायिका पनि फाइनल गरेका छन् । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’ मा नायिका पुजा शर्माले अभिनय गरेकी थिइन तर ‘प्रेम गीत २’ मा भने नयाँ अनुहार देख्न पाइने भएको छ । खबरका अनुसार ‘प्रेम गीत २’ का लागि निर्माण कम्पनी आसुसेन फिल्मले लिड रोलमा अश्लिषा ठकुरीलाई फाइनल गरेको छ । निर्माणपक्षले उनको लुक्स र अभिनयको कारण ‘प्रेम गीत २’ का लागि फाइनल गरिएको हो । अब अश्लिषाले ‘प्रेम गीत २’ मा प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । २२ बर्षकी अश्लिषाले ६ महिनाको अभिनय कोर्स पनि सिकेकी छिन् । उनी थिएटरबाट चलचित्रमा प्रवेश गर्न लागेकी कलाकार हुन् । विरेन्द्र हमाल र सुनिल पोख्रेलबाट उनले अभिनय कोर्स सिकेकी हुन् । आउँदो कात्तिक देखि फ्लोरमा जाने ‘प्रेम गीत २’ को सुटिङ थाईल्याण्ड, म्यानमार र नेपालमा हुनेछ । गएको बर्ष प्रेम गीत रिलिज भएपछि निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मासँग निर्माता सन्तोष सेनको मनमुटाव भएको थियो । त्यसैले यो चलचित्रमा निर्माण कम्पनीले निर्देशक र नायिका नयाँ राखेको छ ।