यही महिनाको भाद्र ३ गते प्रदर्शनमा आएको चलचित्र “वीर विक्रम” का निर्देशक मिलन चाम्सले अर्को नयाँ चलचित्रको घोषणा गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनी चाम्स इन्टरटेन्मेन्टले चलचित्र “ह्याप्पी डेज” को औपचारिक निर्माण घोषणा गरेको हो ।
विपी खनाल, भवानी शर्मा, हिरल जोशी र अशोक बन्सालले निर्माण गर्ने यो चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, सञ्जय गुप्ता, विक्की जोशी लगाएतका कलाकारहरुको अभिनय रहनेछ । यूकेका विभिन्न स्थानहरुमा खिचिने बताइएको चलचित्र “ह्याप्पी डेज” आफुले निर्देशन गरेको अन्य चलचित्र भन्दा फरक रहने निर्देशक चाम्सले बताए । कमेडी र सोसल ड्रामामा तयार हुने बताइएको यो चलचित्रको बजेट १ करोड ७० लाख रहेको छ ।
चलचित्र “ह्याप्पी डेज” को निर्माण घोषणा कार्यक्रममा बोल्दै चलचित्रका नायक दयाहाङ राईले चलचित्रको कथावस्तु निकै मन परेका कारण काम गर्न लागेको बताए ।
त्यस्तै नायिका प्रियंका कार्कीले चलचित्रमा राम्रो टिम भएका कारण “ह्याप्पी डेज” धमाकेदार बन्ने बताइन । कार्यक्रममा नायिका कार्की चलचित्रको गेटअपमा नै उपस्थित भएकी थिइन । ‘चलचित्रमा म कलेज पढ्ने कूल केटीको रुपमा देखिनेछु,’नायिका प्रियंकाले भनिन्, ‘यो पटक पनि फरक रुपमा देखिने भएकाले दर्शकले मन पराउनुहुन्छ होला।’
उनले “ह्याप्पी डेज” मा यूकेमा बस्ने एक यूवतीको भुमिका निर्वाह गर्नेछिन् । यूके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्था नै चलचित्रको विषय हो। चलचित्र “ह्याप्पी डेज” मा तारा प्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको द्धन्द्ध, रामकुमार केसी र कोलिन पिकक् को छायाँकन, अर्जुन जिसीको सम्पादन, गिरीराज घिमिरेको सह–निर्देशन रहनेछ । १४ अक्टोबर, २०१६ बाट छायाँकन सुरु हुने यो चलचित्रको २०१७ को अप्रिलमा प्रदर्शन हुन सक्ने बताइएको छ ।
तस्बिर : मिलन