हास्यविधामा मात्र होइन अब सिने क्षेत्रमा पनि दीपाश्री निरौला चिनाइरहनुपर्ने नाम होइन । ‘तीतो सत्य’ टेलिशृंखलामा उनको अभिनयले जसरी जादु चलाएको थियो अहिले उनी चलचित्र निर्माण र निर्देशनमा पनि सफल सावित भएकी छिन् । ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ निर्माण गरेपछि दीपाश्री निरौला एक सफल निर्मात्री पनि बनिन् । यसै बिच चलचित्रको निर्देशनमा हात हालेकी दीपाको चलचित्र ‘छक्का पन्जा’ हाल प्रदर्शन भइरहेको छ ।
दीपाश्री मात्र पहिलो महिला निर्देशन भने होइनन् उनीभन्दा अगाडी ११ महिला निर्देशकले चलचित्र निर्देशन गरिसकेका छन् । कोही महिला निर्देशक चलचित्र निर्देशनमा सफल पनि भएका छन् भने कोही असफलताको स्वाद चाखेपछि आगामी दिनमा चलचित्र निर्देशन नगर्ने मनसाय पनि बनाइसकेका छन् ।
तर दीपाश्रीले हास्यविधाबाट पहिलोचोटी चलचित्र निर्देशनमा हात हालिन र उनी सफल पनि भइन । हुनत, दीपाश्रीले ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा सह-निर्देशनको काम गरिसकेकी थिइन तर आफैले सम्पुर्ण जिम्मेवारी लिँदै ‘छक्का पन्जा’ निर्देशन गर्नु दीपाश्रीलाई कम चुनौती पूर्ण भने थिएन । धेरैले ‘छक्का पन्जा’ दीपाश्रीको लागि अग्नी परिक्षा रहेको पनि बताए तर दीपाश्रीले हास्यविधामा जस्तै चलचित्र निर्देशनमा पनि आफुलाई सफल सावित गराइसकेकी छिन् । अहिले उनले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ हेर्न हलहरुमा दर्शकहरुको भिड थामिनसक्नुको छ । चलचित्रको उत्कृष्ट कथावस्तु, कलाकारहरुको अभिनयले जसरी दर्शकहरुको मन जित्यो त्यसले दीपाश्रीलाई पनि थप उचाईमा पुराएको छ ।
चलचित्र ‘छक्का पन्जा’ हेरेपछि कोही पनि निर्देशक दीपाश्री निरौलाको निर्देशकिय पक्षको तारिफ नगरि बस्न सक्दैनन् । प्रदर्शनमा आएको दुई दिनमा नै ‘छक्का पन्जा’ ले डेढ करोड माथिको विजनेश गरेको थियो । काठमाण्डौं तथा मोफसलका ८० बढी हलमा प्रदर्शनमा आएको चलचित्र छक्का पन्जाले यही रफ्तारमा दर्शक हलमा तानेको खण्डमा पाँच करोड माथिको ग्रस कलेक्सन गर्ने सक्ने संकेत यस चलचित्रका वितरकहरु बताउँछन् । यो हेर्दा दीपाश्री निरौलाले आफुलाई एक सफल निर्देशकको सूचीमा उभ्याइसकेकी छिन् ।
यसअघि दिपक र दिपाले निर्माण गरेका दुई चलचित्रहरु ‘६ एकान ६’ र ‘वडा नं ६’ ले दुई दिनमा करोड कम नै ग्रस कलेक्सन गरेका थिए । यसअर्थ व्यापारिक रुपमा डेव्यु निर्देशक दिपाश्रीले यसअघिका दुई निर्देशक दिनेश डिसी र उज्जवल घिमिरेलाई व्यापारिक रुपमा पनि उछिनेकी छिन् । अब हेर्न यो बाँकी छ कि दीपाश्री निरौलाले आगामी दिनमा चलचित्र निर्देशनलाई निरन्तरता दिन सक्छिन् वा सक्दिनन् ? तर ‘छक्का पन्जा’ सफल भएको कारण उनलाई आगामी दिनमा अन्य चलचित्र निर्देशन गर्न भने बाटो खुल्नुको साथै चुनौती पनि बढेको छ ।