‘होस्टेल रिर्टन्स’ मा मधेशी पात्रको भुमिका निर्वाह गरेपछि कलाकार नाजिर हुसेन रातारात हिट भए । ‘होस्टेल रिर्टन्स’ मा नाजिरको भुमिकालाई दर्शकहरुले रुचाएपछि उनी नेपाली चलचित्रका निर्माताहरुको नजरमा पनि पर्न थाले । त्यसपछि उनले ‘वीर विक्रम’ चलचित्रमा काम गरे । ‘वीर विक्रम’ मा पनि उनको भुमिकालाई दर्शकहरुले खुबै रुचाए । अहिले नाजिरले अभिनय गरेको चलचित्र ‘गाँठो’ यही भदौं ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
यसअघि नाजिरले अन्य चलचित्रमा अहिलेसम्म सहायक कलाकारको भुमिका निर्वाह गर्दै आइरहेका थिए । ‘होस्टेल रिटन्र्स’ मा काम गरेपछि जसरी उनको उचाई चुलियो त्यसपछि उनलाई चलचित्रमा मधेशी पात्रको रुपमा मात्र हेर्न थालियो तर चलचित्र ‘गाँठो’ मा उनको भुमिका विल्कुलै फरक रहेको निर्माण पक्षले बताउँदै आएको छ । सहायक भुमिकाबाट चलचित्र ‘गाँठो’ मा प्रमुख भुमिकामा काम गरेका नाजिरलाई चलचित्र गाँठो फुकाउन भने जस्तो सजिलो भने छैन् । यो चलचित्रसँग अर्को एक चलचित्र पनि प्रदर्शनमा आउने भएका कारण नाजिर अहिले चलचित्रको प्रचारमा प्रशस्तै समय छुट्याएर पनि हिँडिरहेका छन् ।
अहिलेसम्म अभिनय गरेका चलचित्रमा कमेडी शैलीमा देखिएका नाजिरलाई चलचित्र ‘गाँठो’ अग्नी परिक्षा बनेको छ । यो चलचित्रले सफलता हासिल गरे उनी आगामी चलचित्रमा प्रमुख भुमिकामा देखिन सजिलो र निर्माताहरुले पनि पत्याउन सक्छन्, त्यसैले त नाजिरका लागि अहिले गाँठो फलामको चिउरा चपाउनु जस्तो बनेको छ । निर्माणपक्ष पनि नाजिरको कारण चलचित्र चल्नेमा विश्वस्त रहेको छ । लगातार एकपछि अर्को चलचित्रमा जसरी नाजिरलाई रुचाइयो त्यसको फलस्वरुप पनि उनले गाँठो पाएका हुन् भन्दा गलत नहोला । अब भदौं ३१ गतेपछि नै थाहा हुन्छ कि नाजिरका कारण ‘गाँठो’ चल्छ वा उनलाई सहायक भुमिका नै ठिक हुन्छ ।
यूवापुस्ताका दर्शकहरुको नजरमा पछिल्लो समय नाजिरले आफ्नो जुन छाप छोडेका छन् त्यसका लागि पनि ‘गाँठो’ चल्नु पर्ने चलचित्रकर्मीहरु बताउँछन् । हालै एक चलचित्रमा ५ लाख मागेको खबर बाहिरिदै गर्दा चलचित्र ‘गाँठो’ प्रदर्शन भएपछि नाजिर त्यसको लायक छन् वा छैनन् भन्ने पनि प्रष्ट पार्छ ।
निर्देशक सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा नम्रता श्रेष्ठ, नाजिर हुसेन र अभय बराल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यो चलचित्रले परिवार, प्रेमका सम्बन्धमा आउने गाँठोलाई उठान गरेको निर्देशक भुषालको भनाई छ । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा तिलक श्रेत्री र सुरज भुषालले मिलेर यो चलचित्र बनाएका हुन् ।