भाद्र २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले अहिले घरेलु बक्सअफिसमा एकलौटी राज गरिरहेको छ । प्रदर्शनमा आएको पहिलो दिनबाट बोराका बोरा पैसा झार्न सुरु गरेको ‘छक्का पन्जा’ले प्रदर्शनमा आएको एघारौं दिनसम्ममा झण्डै साढे ६ करोडको विजनेश गरिसकेको वितरकले जानकारी दिएका छन् । प्राप्त जानकारी अनुसार चलचित्र ‘छक्का पन्जा’ ले प्रदर्शनमा आएको एघारौं दिनसम्ममा देशभर गरि ६ करोड ४० लाखको विजनेश गरिसकेको छ । लगातार भइरहेको सार्वजनिक विदाले पनि ‘छक्का पन्जा’ को विजनेश उच्च छ । दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘छक्का पन्जा’ अहिले पनि सिंगल र मल्टिप्लेक्स हलहरुमा हाउसफूल छन् ।
रिलिजको एघारौ दिनमा नै चलचित्र ‘छक्का पन्जा’ ले ‘ड्रिम्स’, ‘परदेशी’ र ‘कबड्डी कबड्डी’ ले गरेको लाईफ टाईम कलेक्सन ६ करोडको रेकर्डलाई पनि सजिलै उछिनेको छ । त्यस्तै सर्वाधिक कमाई गरेको स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘कोहिनूर’ को विजनेशलाई पनि छक्का पन्जाले उछिन्न सक्ने अनुमान लगाउन सुरु भइसकेको छ । हुनत, ‘कोहिनूर’ को लाईफ टाईम कलेक्सन ११ करोड थियो र यो चलचित्रले प्रदर्शनमा आएको ११ दिनसम्ममा साढे ४ करोडमाथिको विजनेश गरेको थियो । यो हेर्दा ‘छक्का पन्जा’ ले ‘कोहिनूर’ को विजनेशलाई पनि उछिनिसकेको छ । यदी ‘छक्का पन्जा’ को लाईफ टाईम कलेक्सन ११ करोड माथि भए यो चलचित्र नेपालको पहिलो सर्वाधिक कमाई गर्ने चलचित्रको रुपमा दर्ता हुनेछ ।
रिलिजअगावै ‘छक्का पञ्जा’ का गीत युट्युबमा हिट भइसकेका थिए भने ट्रेलरबाटै चलचित्र प्रतीक्षित बन्न पुगेको थियो। यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।