एम सन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘लालटिन’ को पोष्टर, टीजर र गीति एल्बम सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्र ‘लालटिन’ चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने पनि घोषणा गरेको छ । सार्वजनिक पोष्टरमा एक व्यक्तिको आकृतिमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् भने सार्वजनिक टीजरमा शहरमा हुने गरेका विभिन्न घटनाहरुलाई देखाइएको छ । टीजरमा सबै कलाकारहरुको भुमिका सस्पेन्समा राखिएको छ । कार्यक्रममा बोल्दै चलचित्रकी नायिका प्रियंका कार्कीले नेपाली समाजमा घटिरहेको घटनामा चलचित्र लालटिन तयार भएको बताइन । उनले चलचित्रको कथा बलियो भएका कारण ‘लालटिन’ मा काम गरेको पनि खुलाइन । कार्यक्रममा चलचित्रका नायक दयाहाङ राई भने उपस्थित थिएनन् ।
भानु प्रताप प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन, विनोद ढकाल, किरण माइकल र डीजराज पौडेलको संगीत छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र ‘लालटिन’ लाई सफलताको शुभकामना दिएका थिए ।
तस्बिर : मिलन ढुंगाना