बलिउड अभिनेता सलमान खानको फिल्म र अभिनयको जति चर्चा र प्रशंसा हुन्छ, त्यति नै उनको व्यक्तिगत जीवनबारे पनि प्रश्न उठ्छन् । त्यसमा पनि उनको विवाहबारे अड्कलबाजी हुन थालेको त बर्षौ भइसकेको छ । यो वर्षको सुरुवातदेखि नै हल्ला चल्यो– सलमानले १८ नोभेम्बरमा विवाह गर्दै छन् । यदि यो सही हो भने पनि अर्को प्रश्न सँगै थियो– कोसँग ? रोमानियाकी मोडल युलिया वन्तुरको नाम यसको जवाफमा आयो । तर यस विषयमा अहिलेसम्म सलमानले कुनै पनि प्रतिक्रिया दिएका छैनन् तर युलियाले भने सलमान आफ्नो मिल्ने साथी भएको बताएकी छिन् । युलियासँग जोडेर सलमानको विवाहको विषयमा धेरै कुराहरु बाहिर आइरहेको बेला अहिले यस विषयमा उनका भाइ अरबाज खानलाई सोध्न थालिएको छ । तर, उनले भन्दै आएका छन्, ‘सलमानको विवाहबारे मलाई केही पनि थाहा हुँदैन । यो उनको व्यक्तिगत जीवनको कुरा हो, उनलाई नै थाहा हुन्छ । अरू सामान्य मानिसलाई जति थाहा छ, उनको विवाहबारे मलाई पनि त्यति नै थाहा छ ।’