असोज २१ गते ‘किस्मत २’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुब्बा साब’ को ट्रेलर सार्वजनिक भएको छ । केही दिन अगाडी मात्र असोज २१ गतेलाई रिलिज मिति फाइनल गरेको निर्माण पक्षले प्रचार प्रसारलाई आक्रामक बनाउन ट्रेलर सार्वजनिक गरेको हो । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।
हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी, दिपक ढकाल र जानवी बस्नेत लगायतको अभिनय छ । चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ । चलचित्रमा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य निर्देशन रहेको छ भने मौनता श्रेष्ठले पटकथा तथा संवाद लेखेका छन् ।