अनौठो होइन चलचित्रमा काम गरिसकेपछि कलाकारहरु चलचित्रको पव्लिसिटीमा नहिँड्नु । किनकी कलाकारहरुको यो बानीबाट धेरै निर्माता, निर्देशकहरु वाक्कदिक्क भइसकेका छन् । चलचित्रमा काम गरिसकेपछि प्रचार प्रसारमा हिँड्नु पनि कलाकारहरुको उतिक्कै कतव्र्य हुन्छ तर यो कुरा धेरै कलाकारहरुको हकमा भने लागु हुँदैन ।
यस्तै बानीको चेपुवामा चलचित्र ‘तँ म र ऊ’ पनि परेको छ । यही चलचित्रको छायाँकनको बेला प्रेम सम्बन्धमा रहेका नायिका निता ढुंगाना र आमेश भण्डारीको अहिले ब्रेकअप भइसकेको छ र त्यसको असर अहिले आएर चलचित्र ‘तँ म र ऊ’ लाई परेको छ । चलचित्र ‘तँ म र ऊ’ मा मुख्य भुमिका निर्वाह गरेका आमेश भण्डारी र निता ढुंगाना वुधबार राजधानीमा आयोजित चलचित्रको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । चलचित्रकी निर्देशक लछु गौतमका अनुसार कार्यक्रममा सहभागी हुनका लागि चलचित्रका सबै कलाकारहरुलाई बोलाइएको थियो तर चलचित्रका मुख्य कलाकार आमेश भण्डारी र निता ढुंगाना नै कार्यक्रममा देखिएनन् । निर्माणपक्षले झण्डै आधा घण्टा आमेश र नितालाई पर्खियो तर उनीहरु आउने छाँटकाट नदेखिएपछि चलचित्रकी निर्देशक लछु गौतमले आक्रोस पोख्न भ्याइन ।
उनले चलचित्रमा काम गरिसकेपछि पव्लिसिटीमा हिँड्न पनि निता र आमेशलाई आग्रह गरिन् । उनले भनिन्, ‘चलचित्रमा काम गरेपछि पव्लिसिटीमा पनि हिँड्न जान्नु पर्छ । हामी नयाँ निर्माता र निर्देशक भनेर नहेप्नुस् । सधै आइदिनुहोस् भनेको छैन तर चलचित्रको पव्लिसिटीमा भने समय दिनजान्नु पर्छ ।’
गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पछि यो जोडीको ब्रेकअप भएको थियो । ‘तँ म र ऊ’ को छायाँकनको बेला बसेको प्रेम चलचित्र रिलिज हुनु अगावै नै ब्रेकअपमा परिणत भइसकेको छ । अब यो जोडीले ‘तँ म र ऊ’ का लागि भने समय खर्चिने मनसायमा छैन ।
कार्यक्रममा चलचित्रको दुई गीत, टीजर र रिलिज मिति घोषणा गरिएको थियो । निर्देशक लछु गौतमका अनुसार चलचित्र मंसिर १७ गतेबाट देव्यापी प्रदर्शनमा आउनेछ । नवराज प्रसाईको निर्माण, सुदिन प्रसाईको लेखन रहेको चलचित्रमा सुदिन प्रसाई, नीता ढुँगाना, आमेश भण्डारी, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, अञ्जना आरसी, पुर्णिमा क्षेत्री लगायत बाल कलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारी आदी रहेका छन् । जसको छायांकन रमणीय स्थल जोमसोम, कागबेनी, मुक्तिनाथ र काठमाडौँमा गरिएको निर्माता प्रसाईले बताए ।