गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ को चर्चा अहिले पनि नेपाली सिनेवृतमा सेलाएको छैन । रिलिज अगाडी गीत संगीतका कारण निकै चर्चामा रहेको प्रेमगीतले रिलिज पछाडी दर्शकहरुको राम्रै साथ पायो । उत्कृष्ट कथावस्तु, अब्बल निर्देशकिय पक्ष र उत्कृष्ट कलाकारहरुको अभिनयले ‘प्रेमगीत’ गएको बर्ष सुपरहिट भयो । चलचित्रमा समाबेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत गएको बर्षको सुपरहिट गीतको सूचीमा समेत दर्ता भयो । अहिले यो चलचित्रको सिक्वेल निर्माण हुँदैछ । निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेमगीत २’ निर्माण गर्दैछन् । यो चलचित्रका लागि नायक प्रदीप खड्का र नायिकामा अश्लिषा ठकुरी फाइनल भइसकेका छन् । चलचित्रलाई निर्देशन भने स्क्रिप्ट राईटर रामशरण पाठकले गर्ने पक्का भइसकेको छ ।
‘प्रेमगीत’ रिलिज भएपछि निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मासँग निर्माता सन्तोष सेनको सम्बन्धमा दरार आएको थियो, त्यसपछि उनीहरुसँगै एकसाथ अगाडी बढ्न सक्ने अबस्था रहेन । अनि उनीहरु अलग अलग रुपमा चलचित्र निर्माण गर्ने तयारीमा जुटे । जस अनुरुप केही दिन अगाडी मात्र सन्तोष सेनले चलचित्र ‘प्रेमगीत २’ मा नयाँ नायिका र निर्देशक लिएर चलचित्र निर्माण गर्न कसिए । सन्तोषले ‘प्रेमगीत २’ घोषणा गरेको केही दिन नवित्दै सुदर्शनले पनि आफुले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत’ को शीर्ष गीतलाई नै चलचित्रको नाम दिए ‘म यस्तो गीत गाउँछु’ । उनले यूएईको अबुधाबीमा आयोजित नेपाली म्यूजिक भिडियो अवार्ड कार्यक्रममा चलचित्र ‘म यस्तो गीत गाउँछु’ को घोषणा गर्दै चलचित्रका मुख्य कलाकारहरुको सार्वजनिक गरे । यो चलचित्रमा ‘प्रेमगीत’ की हिरोइन पुजा शर्मा र ‘नाइँ नभन्नू ल ४’ मा अभिनय गरेका पल शाह मुख्य भुमिकामा रहनेछन् । चलचित्रलाई सुदर्शन स्वयमले निर्देशन गर्दैछन् ।
दर्शकको प्रतिक्षा के मा ?
‘प्रेमगीत’ मा निकै रुचाइएकी पुजा शर्मा र नायक प्रदीप खड्का अलग-अलग चलचित्रमा अनुबन्धित भइसकेका छन् । ‘प्रेमगीत २’ मा प्रदीप खड्काले अभिनय गर्नेछन् भने ‘म यस्तो गीत गाउँछु’ मा पुजा शर्माले । प्रेमगीतबाट निकै रुचाइएका प्रदीपको ‘प्रेमगीत २’ दर्शकहरुका लागि प्रतिक्षित बन्ने पक्का छ भने सुदर्शनले निर्माण गर्न लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ पनि प्रतिक्षित बन्नेमा दुई मत छैन । चलचित्र प्रेमगीत सफल हुनुमा तीन पात्र मुख्य छन्, जसमा नायिका पुजा शर्मा, नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापा । ‘प्रेमगीत २’ मा प्रदीप अनुबन्धित भएपनि अहिले बलियो भने सुदर्शन देखिएका छन् ।
‘प्रेमगीत’ निर्देशन गरेर सफल निर्देशकको रुपमा आफुलाई सावित गराएका सुदर्शनले ‘प्रेमगीत’ की नायिकालाई ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गराउँदैछन् । त्यस्तै सुदर्शन बलियो हुनुको अर्को पाटो पनि छ, त्यो हो पल शाहले ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गर्नु । पल पनि आफैमा एउटा क्रेज बोकेका स्टार हुन् । म्यूजिक भिडियोमा निकै रुचाइएका पललाई गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नू ल ४’ ले थप उचाईमा पुरायो । यतिसम्मकी उनले ‘नाइँ नभन्नू ल ४’ बाट डि सिने अवार्ड र फान अवार्डबाट उत्कृष्ट नव-नायकको अवार्ड पनि हात पारिसकेका छन् । सुदर्शन आफैमा एक सफल निर्देशक र दुई सफल कलाकारलाई लिएर चलचित्र निर्माण गर्न लागेका कारण पनि अहिले ‘म यस्तो गीत गाउँछु’ को चर्चा बढी छ । यसरी हेर्दा अहिले सुदर्शन पक्ष सन्तोषभन्दा केही माथि देखिएको छ । तर अहिलेसम्म यि दुवै चलचित्र निर्माण भइनसकेका कारण कुन चलचित्रले अर्को बर्ष बाजी मार्ला त्यो भने अहिले भन्न सक्ने अबस्था छैन । अब यो हेर्न बाँकी छ कि अर्को बर्ष दर्शकहरुले कुन चलचित्रलाई बढी रुचाउने हुन् ।