तपाई नायिका यूना उप्रेतीलाई चिन्नु हुन्छ ? चिन्नुहुन्न भने बताइदिउँ कि चलचित्र ‘पर्खी बसे’ हेर्नुभएको छ भने सोही चलचित्रमा काम गर्ने अभिनेत्री हुन् यूना । उनले अभिनय गरेको पहिलो चलचित्र ‘पर्खी बसे’ सर्वाधिक सफल मानिन्छ ।
‘पर्खी बसे’ पछि उनले ‘फ्ल्यास ब्याक’, ‘चन्द्रवती’ लगायतका केही चलचित्रमा काम गरिन् तर ‘पर्खी बसे’ जसरी कसैले पनि सफलता हासिल गरेनन् । उनले खेलेका केही चलचित्र हिट भएपनि चलचित्र बजारमा उनको स्थान गतिलो बनेको थिएन । जसकाकारण अन्य अभिनेत्रीहरु जसरी नै यूनाले पनि अमेरिका रोजिन् । नेपाली चलचित्रक्षेत्रमा उज्वल भविष्य नदेखेपछि उनी पनि एक कार्यक्रमको सिलसिलामा अमेरिका हानिइन । अमेरिका जानु अघि नेपाल फर्किने र चलचित्र खेल्ने बाचासहित उडेकी यूना त्यसपछि अमेरिकामा नै हराइन । अमेरिका बसाईको क्रममा उनले विवाह गरेको खबर पनि बाहिर आएको थियो तर विवाहको विषयमा भने अहिलेसम्म यूनाले कुनै पनि जानकारी दिइसकेकी छैनन् ।
हुनत, उनी हाल अमेरिकामा भएपनि नेपाल आउने र जाने भने गरिरहन्छिन् तर अमेरिका हानिएपछि उनी नेपाली चलचित्रमा भने देखिइनन् । अमेरिकामा बसिरहँदा उनले फेरी नेपाली चलचित्रमा फर्किने बताएकी थिइन तर उनको लागि त्यो सम्भव भएन । लामो समयदेखी अमेरिकामा रहँदै आएकी नायिका यूना उप्रेतीले फेसबुकमा पछिल्लो समय तस्बिर मात्र पोष्ट गरेको पाइन्छ । यो बाहेक उनले आफ्ना बारेमा धेरै कुरा खुलाएकी छैनन् । ‘पर्खी बसे’बाट आशा लाग्दो रुपमा उदाएकी यूनाको अभाव एकपटक नेपाली चलचित्रलाई नखड्किएको होइन तर उनी अमेरिका छोडेर नेपाली चलचित्रमा आउने आँट गरिनन् । अहिले नेपाली चलचित्रमा उदाएका धेरै कलाकार अमेरिकातर्फ नै लागिसकेका छन् । (तस्बिरहरु यूनाको फेसबुकबाट )