भोली शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन हुन लागेको चलचित्र ‘छक्का पन्जा’ ले एघारौं दिनसम्ममा ६ करोडमाथिको विजनेश गरेको खबर हामीले मंगलबार मात्र प्रकाशन गरिसकेका थियौं । प्रदर्शनमा आएको पहिलो दिनदेखी बोराका बोरा पैसा बटुल्न सुरु गरेको ‘छक्का पन्जा’ ले तेस्रो हप्तामा प्रदर्शन हुन १ दिन बाँकी रहँदा कयौ रेकर्डहरुलाई ब्रेक गर्दै नयाँ रेकर्डहरु बनाइरहेको छ । सिंगल र मल्टिप्लेक्सहरुमा अहिले पनि छक्का पन्जा हाउसफूल रहेको वितरकले बताएका छन् । लगातार भइरहेको सार्वजनिक विदाले पनि ‘छक्का पन्जा’ को विजनेश उच्च छ । दर्शकहरुको उल्लेख्य साथ पाएपछि अब निर्माणपक्ष दर्शकहरुलाई धन्यवाद दिनका लागि काठमाडौंसँगै मोफसल यात्रामा निस्कने भएको छ । चलचित्रका नायक तथा निर्माता दीपकराज गिरीले यो शनिबार काठमाडौंका हलहरु र आइतबार र सोमबार नारायणगढ र हेटौडा हुँदै देशका अन्य ठाउँहरुमा जाने जानकारी दिए ।
रिलिजअगावै ‘छक्का पञ्जा’ का गीत युट्युबमा हिट भइसकेका थिए भने ट्रेलरबाटै चलचित्र प्रतीक्षित बन्न पुगेको थियो। यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।