अहिले एउटा मात्र चलचित्र एक मितिमा प्रदर्शनमा आउने अबस्था छैन । बर्षमा झण्डै २ सय बढी चलचित्र बनिरहेको अबस्थामा प्राय अधिकांश शुक्रबार एकभन्दा बढी चलचित्रहरु प्रदर्शनमा आइरहेको हामी सबैले देखेका नै छौ । तर स्टार कलाकारहरुको फिल्महरु चाहिँ प्राय सोलो रिलिजमा उत्रिरहेका हुन्छन् । जसमा अनमोल केसी, निखिल उप्रेती, रेखा थापा लगायतका कलाकारहरुको चलचित्रहरु प्राय सोलो रिलिजमा उत्रिएको देख्न सकिन्छ ।
पछिल्लो समय दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रहरु पनि सोलो रिलिजमै उत्रिरहेका छन् । त्यही क्रममा दीपकराज गिरी र दीपाश्रीले निर्माण गरेको नयाँ चलचित्र ‘छक्का पन्जा’ आउने भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । रिलिज मिति तोक्दै गर्दा यो चलचित्रसँग ‘गाँठो’ प्रदर्शनमा आउँदै थियो तर छक्का पन्जाको अगाडी आफ्नो केही नलाग्ने देखेपछि ‘गाँठो’ यूनिटले आफ्नो रिलिज मिति सारेर भदौं ३१ गते पुराएको छ । अब ‘छक्का पन्जा’ भदौ २४ मा सोलो रिलिजमा आउँदैछ ।
सायद भदौंमा सोलो रिलिजको मौका पाउने यो पहिलो चलचित्र हो । भदौ महिनामा राम्रो भनिएका धेरै चलचित्रहरु एकआपसमा भिड्ने पक्का छ । भदौ ३ गते ‘विर विक्रम’सँग ‘चपली हाईट २’, भदौ १७ गते ‘लालजोडी’सँग ‘ब्रासलेट’, भदौ ३१ गते ‘गाँठो’सँग ‘ड्राइभर दाई’ लगायतका फिल्महरु एकआपसमा लड्दै छन् । तर भदौ महिनामा नै आउन लागेको चलचित्र ‘छक्का पन्जा’ले सोलो रिलिजको मौका पाउनु आफैंमा राम्रै कुरा हो ।
खबरका अनुसार यो चलचित्र एक हप्ता राम्रोसँग चलेपनि लगानी सजिलै सेभ गर्न सक्छ । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र काठमाण्डौ बाहिर चलचित्रलाई एफडी कम्पनीले वितरण गर्नेछ ।