पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गरेको चलचित्र ‘गाजलु’ यसै बर्ष प्रदर्शनमा आएको थियो । अनमोल केसीको अपोजिटमा अभिनय गरेकी सृष्टिले ‘गाजलु’ बाट राम्रो तारिफ पाइन् । उनको सुन्दरता र अभिनयले सृष्टिलाई एक सफल अभिनेत्री पनि बनायो । अहिले उनी नयाँ प्रोजेक्टको तयारीमा रहेकी छिन् । चाँडै उनी नयाँ चलचित्र ‘रोमियो एण्ड मुना’ मा अभिनय गर्दैछिन् ।
महंगो पारिश्रमिक लिँदै चलचित्रमा काम गर्न लागेकी सृष्टिले ‘रोमियो एण्ड मुना’ मा ‘मुना’ को भुमिका निर्वाह गर्नेछिन् भने नायक विनय श्रेष्ठले ‘रोमियो’ को रोल निभाउनेछन् । यो चलचित्रको हालै २ गीत रेकडिङ्ग समेत सम्पन्न भइसकेको छ । चलचित्रको गीतमा भारतीय गायक गौरभ दगोन्करले आवाज दिएका छन् । उनले यसअघि फिल्म ‘रेशम फिलिली’ को “जालमा” कमल खत्रीको “आत्मामा” र १९७४ एड़ीको “परेलीमा” जस्ता चर्चित नेपाली गीतहरुको म्यासअप कभर गीत गाइसकेका छन् । उनले चलचित्र “रोमियो एण्ड मुना” का लागी काठमाडौँ आएर गीत रेकर्ड गरेका हुन्। यो चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गर्दैछन्। खबरका अनुसार चलचित्रलाई विनय श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।