एकसमय थियो राजेश हमालका चलचित्र भनेपछि सिनेमा घरमा दर्शकहरुको लाइन थामिनसक्नुको हुन्थ्यो । लगातार आफुले अभिनय गरेका चलचित्रहरु सफल हुँदै गएपछि उनलाई नेपाली चलचित्रका महानायक भनेर समेत चिन्न थालियो तर अहिले नेपाली चलचित्रका महानायकको अबस्था खासै सुखद देखिन्न । केही बर्षयता उनले अभिनय गरेका कुनै पनि चलचित्रले सफलता हासिल गरेका छैनन्, जसले गर्दा अहिले उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुले सोच्नु पर्ने भएको छ । एकसमय राजेश हमालको टाउको पोष्टरमा राखेमात्र पनि चलचित्र सुपरहिट हुन्छ भन्ने निर्माताहरु अहिले राजेश हमालको विकल्प खोज्न थालिसकेका छन् । लगातार आफु अभिनित चलचित्र असफल हुँदै गएपछि राजेश हमाल अहिले विभिन्न देशमा हुने कार्यक्रम देखी आफ्नै घरायसी काममा व्यस्त देखिएका छन् ।
गएको महिना हमालले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ प्रदर्शनमा आएको थियो, जुन चलचित्रमा उनले पहिलो पटक महिला अवतारमा प्रस्तुत भएका थिए । पहिलो पटक चलचित्रको पर्दामा हमाल महिलाको अवतारमा प्रस्तुत भएपनि दर्शकले उनको उक्त रुपलाई हेर्न हलसम्म जान उचित ठानेनन् र फलस्वरुप चलचित्र ‘शकुन्तला’ पनि फ्ल्प भयो । अहिले राजेश हमाल कुनै पनि चलचित्रको छायाँकनमा व्यस्त छैनन् । प्राय एक्सन कटमै व्यस्त हुने राजेश हमाल अहिले आफु ब्राण्ड एम्बेसडर भएको एनएमबी बैंकको प्रचारमा दौडिरहेका छन् । आफु अभिनित चलचित्रको प्रचार प्रसारलाई बेवास्ता गर्ने हमाल अहिले भने एनएमबी बैंकको प्रचारमा दिलोज्यान दिएर खटिरहेका छन् । गएको महिना हमालले आफु अभिनित चलचित्र ‘शकुन्तला’ को पव्लिसिटीलाई बेवास्ता गर्दै अमेरिका हानिएका थिए ।
केही दिन अगाडी मात्र भारत भ्रमणबाट फर्किएका हमालले लुम्बिनी अञ्चलका विभिन्न पाँच जिल्लाहरुमा एक घर एक खाता योजना अनुसार सेवाग्राहीको घरमै पुगेर खाता समेत खोलेका छन्। उनले बिहीबार पाल्पाको तानसेनमा सम्बोधन गर्दै सेवाग्राहीहरुलाई बचत गर्ने बानिको विकास गर्न आग्रह गरे। उनले दशैं, तिहार, छठ जस्ता पर्वहरुमा धेरै खर्च गर्नुभन्दा बचत गरेर भोलिको भविष्य सुनिश्चित गर्न पाल्पाबासीलाई आग्रहसमेत गरे। उनी भन्छन्, ‘जहाँ खाता हुन्छ त्यहाँ बचत। बचत भएमात्र लगानी र रोजगारीका बाटोहरु समेत खुल्छन्।’