असोज २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुब्बा साब’ निर्माण गरेको टीमले अर्को नयाँ चलचित्रको पनि घोषणा गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माणपक्षले चलचित्र ‘मेरो मिल्ने साथी’ को निर्माण घोषणा गरेको हो । चलचित्र ‘सुब्बा साब’ र ‘मेरो मिल्ने साथी’ को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता हिरामणी न्यौपानेले ‘सुब्बा साब’ रिलिज भएपछि ‘मेरो मिल्ने साथी’ को छायाँकन आरम्भ गर्ने जानकारी दिए । अहिले निर्माणपक्ष चलचित्र ‘सुब्बा साब’ को पव्लिसिटीमा दिलोज्यान दिएर लागिरहेको छ । चलचित्र ‘सुब्बा साब’ लाई राजु अधिकारीले निर्देशन गरेका हुन् भने सरोज खनाल, जीवन लुईंटेल, गौरी मल्ल, बर्षा सिवाकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । कार्यक्रममा चलचित्र ‘मेरो मिल्ने साथी’ को भने हाल कलाकारहरु फाइनल नभएको निर्देशक अधिकारीले जानकारी दिए । शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा बन्ने यो चलचित्रले दुई मिल्ने साथीबीचको सम्बन्धलाई प्रस्तुत गर्नेछ । चलचित्र ‘मेरो मिल्ने साथी’ लाई ‘सुब्बा साब’ का निर्माता हिरामणी न्यौपानेले निर्माण गर्न लागेका हुन् ।