२०७४ सालको बैशाख १ गते नेपाली चलचित्रको राम्रै मारामारी हुने भएको छ । केही दिन अगाडी मात्र ‘राधे’ र ‘लभ लभ लभ’ ले वैशाख १ गतेलाई रिलिज मिति तोकिसकेको अबस्थामा सोही मितिमा अर्को नेपाली चलचित्र ‘घामपानी’ पनि प्रदर्शनमा आउने भएको छ । वैशाख १ गते शुक्रबार पर्ने भएका कारणले पनि अहिले निर्माताहरु सो मितिमा आफ्नो चलचित्र प्रदर्शन गर्न हानाथाप गरिरहेका छन् । वैशाख १ गते नायक दयाहाङ राईको जन्मदिन परेका कारण निर्माणपक्षले सोही मितिमा ‘घामपानी’ प्रदर्शन गर्न लागेको हो । अहिले यो चलचित्रको छायाँकन सिन्धुलीमा चलिरहेको छ । चलचित्र ‘घामपानी’ का निर्माताका अनुसार जन्मदिनमै पारेर चलचित्र रिलिज गरिँदा दयाहाङप्रति शुभकामना र सम्मान दुवै हुने भएकाले वैशाख १ लाई रोजिएको हो । चलचित्र समीक्षक तथा रंग पत्रकार दीपेन्द्र लामाको निर्देशकिय डेब्यू ‘घामपानी’ मा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतको अभिनय रहेको छ। बुधबारसम्म ५० प्रतिशत सुटिङ सकिएको कार्यकारी निर्माता मणिराम पोखेरलले जानकारी दिएका छन् । उनका अनुसार तिहारअघि चलचित्रको छायांकन सक्ने योजना छ । यो चलचित्रले एउटै गाउँका दुई फरक जातिका यूवा र यूवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उचारचढाव र आफ्नो प्रेम सम्बन्ध सफल बनाउन उनीहरुले गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ ।