चर्चामा आउनु र चर्चित हुनु फरक कुरा हुन् । तैपनि, आफूलाई दर्शकको नजरमा पार्न नेपालका कलाकर्मीले पनि चर्चाका लागि समय–समयमा ‘स्टन्ट’ गर्छन् । नेपालमा सस्तो प्रचारबाजीले क्षणिक चर्चा पाएका अभिनेताभन्दा अभिनेत्रीको संख्या बढी छ । करिब दुई दशकअघि नै भुवन केसीले आफूलाई एचआइभी लागेको छ भनेर अन्तर्वार्ता दिएर क्षणिक चर्चा बटुले । पछि, होइन भनेर सच्याउँदै हिँडे । राजेश हमालले शरीरमा आएका गाँठाको चेकअप गराउने भन्दै नग्न फोटो खिचाएर बदनाम कमाए । श्रीमतीसँगको सम्बन्धविच्छेदको तोडमा शिव श्रेष्ठले फिल्म अभिनयबाट सन्न्यास लिएको घोषणै गरे । जसले गर्दा उनको अन्तिम भनिएको फिल्म ‘ठुल्दाइ’ सुपरहिट भयो । त्यस्तै, नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको हर्कत अझ बेजोड छन् ।
रेखा थापा
रेखा थापालाई त ‘स्क्याण्डल क्विन’ भन्दा पनि फरक पर्दैन । उनी चर्चामा आउन छोटा लुगा लगाउनेदेखि राउटेका बच्चा पाल्न पनि पछि परिनन् । उनले पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि रकम सहयोग गर्नेदेखि लिएर भूकम्पपीडितलाई सहयोग गर्न पनि हात बढाएकी थिइन् ।
छविराज ओझासँगको डिभोर्स र व्यावसायिक टक्करका कारण पनि उनले चर्चा पाइरहन्छिन् । कहिले एमाओवादीबाट सभासद्मा उठ्न लागेकी त कहिले भोटर लिस्टमै नाम नभएका कारणले पनि उनले आलोचना खेप्नुपरेको थियो । सुटिङ हुँदाहुँदै आफ्नो फिल्म ‘हिम्मतवाली’बाट तत्कालीन निर्देशक श्याम भट्टराईलाई हटाएर आफैँले ‘एक्सन कट’ गरेको कुराले पनि राम्रै हल्लीखल्ली मच्चाएको थियो । हिम्मतवालीका अभिनेता सुदर्शन गौतमसँगको अफेयरका कारण पनि उनले केही समय चर्चा कमाइन् । तर लाग्छ, पछिल्लो समय उनी सस्तो प्रचारबाजीलाई बढावा दिन छाडेकी छिन् ।
नम्रता श्रेष्ठ
नम्रता पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण चर्चामा आइरहन्छिन् । कहिले डिजे तान्त्रिक, कहिले रमनदास श्रेष्ठ, प्रेम घले त पछिल्लो समय पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण उनको चर्चा सेलाउन पाएको छैन । नम्रता र दावा अचेल सार्वजनिक कार्यक्रममा प्रायः सँगै देखिन्छन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ सफल फिल्ममा गनिन्छन् ।
प्रियंका कार्की
प्रियंका अभिनीत निकै कम फिल्म मात्र सफल भएका छन् तर उनको चर्चा अहिलेका अभिनेत्रीहरु भन्दा बढी नै हुने गर्छ । सफलभन्दा असफल फिल्म धेरै दिएकी प्रियंकाको आलोचना त्यतिवेला ह्वात्तै बढ्यो, जतिवेला उनको भित्री बस्त्र नलगाएको फोटो सार्वजनिक भयो । ‘नाइँ नभन्नु ल–२’ फिल्मको ‘सक्सेस प्रोग्राम’मा केही अनलाइन फोटोग्राफरले उनको भित्रीवस्त्र देखिने फोटो कैद गर्न भ्याए । यद्यपि, प्रियंकाले आफूले ‘स्किन कलर’को भित्री बस्त्र लगाएको दाबी गर्दै एकजना अनलाइन पत्रकारविरुद्ध उजुरी पनि दिइन् ।
बाल कलाकारका रूपमा फिल्म अभिनयमा प्रवेश गरेर पछि मिस टिन उपाधिसमेत जितेकी प्रियंकाले बिहे र सम्बन्धविच्छेदका कारण पनि उनले केही समय मिडियामा राम्रै स्थान पाइन् ।
शुभेच्छा थापा
निर्मात्री, अभिनेत्री शुभेच्छा थापा केही समयअघिसम्म ‘माछावाली’को उपनामले कहलिएकी थिइन् । आफूले निर्माण गरेको ‘मिस नेपाल’ फिल्मको प्रमोसनका लागि आफ्ना स्तन माछाले छोपेर फोटो खिचाउनाले उनको आलोचना खुबै भएको थियो ।
सुष्मा कार्की
हिरोइनभन्दा बढी ‘आइटम गर्ल’का रूपमा चिनिने सुष्मा कार्की फरक–फरक प्रेमीका कारण चर्चामा आइरहन्छिन् । त्यसका साथै ‘एक्सपोज’का कारण पनि उनको नाम लिने गरिएको छ । स्वदेशका मात्र होइन, विदेशमा हुने गरेका ‘स्टेज सो’मा समेत खुला रूपमा प्रस्तुत हुने गरेकाले उनले आलोचनायुक्त चर्चा पाउने गरेकी छिन् ।
पहिला निर्देशक सुदर्शन थापासँगको सम्बन्धका कारण उनले चर्चा पाइन् । सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग उनको प्रेम भयो । उनीबीच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि उनलाई केही समय ‘ख्याति’ मिल्यो । तर, पछिल्लो समय उनको नयाँ प्रेमप्रसंग सुन्न पाइएको छैन । उनी ‘बिन्दास’ फिल्मको फस्र्ट लुकका कारण पनि विवादित बनेकी थिइन् ।
(नयाँ पत्रिकाको सहयोगमा)