नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु सुन्दर फिगर देखाउन नियमित फिटनेस र योग सेन्टर धाउने गरेका छन्। नियमित दुई घन्टा फिटनेस र योग सेन्टरमा बिताउने गरेका अभिनेत्रीहरु खानपिनमा समेत ध्यान दिने गरेका छन्।
जिरो फिगरभन्दा स्वस्थ रहन फिटनेस सेन्टर पुग्ने अभिनेत्रीहरु मोटाउँदा भने अनावश्यक हल्लाखल्ला नेपाली फिल्म क्षेत्रभित्र सुनिने गरेको कुरा सामान्य भइसकेको छ। ‘भिसा गर्ल’ फिल्ममा सुन्दर फिगरका कारण चर्चा पाएकी अभिनेत्री ऋचा शर्मा ‘जंगे’ र ‘को आफ्नो’ फिल्मसम्म आइपुग्दा केही मोटीघाटी देखिएकी छन्। त्यसो त उनी ‘भिसा गर्ल’मा ५३ केजीकी थिइन्। अहिले उनी ५८ केजीकी छन्। विगत तीन महिनादेखि लाजिम्पाटस्थित योग सेन्टर धाउन थालेकी उनी नियमित डेढ घन्टा त्यहाँ बिताउने गरेकी छन्। त्यस्तै अभिनेत्री केकी अधिकारीकाअनुसार आजकल उनी हल्का मोटाएकी छन्। त्यसैले उनी काठमाडौंमा रहँदा चक्रपथस्थित निरमाया फिटनेस सेन्टरमा जुम्बा र योगको प्रशिक्षण लिने गर्छिन् । ‘अमेरिका बसाँईमा जंक फुट धेरै भएजस्तो लागेर एकसातादेखि फिटनेस सेन्टरमा नियमित चार घन्टा बिताइरहेको हुन्छु,’ केकी भन्छिन्, ‘कुनै पनि अभिनेत्री जहिल्यै जिरो साइजको हुनुपर्छ भन्ने हुन्न्। फिल्मको चरित्रअनुसार काम गर्ने हुँदा स्वास्थ्य फिट हुनुपर्छ भन्नेमा विश्वास गर्छु।’
हालः एक फिल्मको सुटिङमा व्यस्त अभिनेत्री प्रियंका कार्की फिटनेस मन्त्रमा नियमित काडियो गर्ने गरेकी छन्। विगत तीन वर्षदेखि नियमित फिटनेस सेन्टर धाउन थालेकी उनी सुटिङ र खानपिनको रुटिन नमिल्दा केहीदिनदेखि घरमा व्यायाम गरिरहेकी छन्। ‘अभिनेत्रीमात्र होइन सबै जना स्वस्थ हुनुपर्छ। डाइटिङ गरेर तौल घटाउने कुरा मलाई मन पर्दैन्, ‘प्रियंका भन्छिन्, ‘फेरि सुटिङमा व्यस्त हुँदा खानपिनमा खासै ध्यान दिन पाइँदैन।’ विभिन्न शोहरुको कारण डान्स धेरै गर्ने हुँदा उनले व्यायाम कम भएको महसुस गर्न पाएकी छैनन्। फिटनेसको लागि उनले मासिक ६ हजार छुटाउने गरेकी छन्।
फिगर र लुक्सको कारण चर्चा पाएकी अभिनेत्री करिश्मा मानन्धर नियमित त्रिपुरेश्वरस्थित ज्यास्मिन फिटनेस सेन्टरमा दुई घन्टा बिताउने गरेकी छन्। सुरुको गोदावरीस्थित घर वरपर नियमित हिँड्ने गरेकी उनी फिगर बनाउने फिटनेस सेन्टर पुग्न थालेकी हुन्। ‘स्वस्थ हुन सबैको लागि राम्रो हो। फिगरको लागि फिटनेस सेन्टर पुगेर व्यायाम गर्नु कामप्रतिको बफादारिता होजस्तो लाग्छ,’ करिश्मा भन्छिन्, ‘अभिनेत्री भनेको पब्लिक फिगर हुन्। त्यसैले फिगरमा ध्यान दिनु जरुरी छ। फिटनेस पुगेर व्यायाम गर्दा अझ बढी फिगरमा ध्यान दिइन्छजस्तो लाग्छ।’
अभिनेत्री रेखा थापा आजभोलि केही मोटाएकी छन्। आफूलाई भाग्यमानी अभिनेत्री मान्ने उनी जिरो फिगर बनाउने चक्करमा कहिल्यै लागिनन्। ‘संसारभर फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीले जतिसुकै काम, दाम र नाम कमाए पनि जहिल्यै पनि भोकै हुन्छन्। नियमित तालिकाअनुसार खानुपर्ने हुँदा एक रोगीजस्तो गरेर बाँचिरहेका हुन्छन्, ‘उनले भनिन्, ‘मचाँहि यो मामलामा भाग्यमानी भएँ। दर्शकले मेरो फिगरभन्दा कामलाई मनपराइदिए।’ हाल ५८ केजीकी उनी चार वर्षअघि ‘हिम्मतवाली’ फिल्मको दौरान मोटाएर ६८ केजी पुगेकी थिइन्। फिल्मको सुटिङ नभएको बेला खानपिन बढी हुने उनी बताउँछिन्। ‘म अहिलेसम्म नियमितरुपमा फिटनेस सेन्टर गएकी छैन। स्वस्थ रहनुपर्छ भन्ने मान्यता राख्छु। केही महिनादेखि मोटाएको महसुस गरिरहेको छु। त्यसैले केहीदिन जुम्बा वा योग कक्षा दिने तयार गरिरहेको छु।’