‘फेसन’, ‘रिभोल्वर रानी’ र ‘क्विन’जस्ता फिल्मले बलिउड अभिनेत्री कंगना रनौटको अभिनय क्षमता अब्बल रहेको प्रमाणित गरिदिएको थियो । सँगसँगै यी फिल्मले कंगनाको आकर्षक ‘फिगर’को सर्वत्र तारिफ गराएको थियो ।
कंगनाले रूपरङ र फिगर मेन्टेन गर्न ठूलो मिहिनेत गर्ने गरेकी छिन् । व्यायाम, मेकअपलगायतमा मिहिनेत गर्ने उनले खानपानमा अझ कठोर अनुशासनबाट आफूलाई बाँध्ने गरेकी छिन् । कंगना शाकाहार भोजन मात्र गर्छिन् । केही समयअघि उनी भिगन भइन् । अर्थात्, उनले दुग्ध परिकारसमेत खान छोडिन् ।
कुनै समय उनी मांसाहार गर्थिन् । तर, मांसाहारप्रति मोह भंग भएपछि उनी शाकाहारी बनिन् । माछामासुबाट पाइने पोषिला तत्वको क्षतिपूर्ति गर्न उनले दुग्ध परिकार बढी खान थालिन् । तर, डेरी प्रोडक्ट्स पनि नफापेजस्तो लागेपछि उनी भिगन बनेकी हुन् ।
‘अहिले म भिगन डाइट फलो गरिरहेकी छु,’ कंगनाले भनिन्, ‘माछामासु खान छोडेर शाकाहारी बनेपछि मैले डेयरी प्रोडक्ट्स बढी मात्रामा लिन थालेँ । तर, यसले स्वास्थ्यमा समस्या उत्पन्न गराउन थालेपछि यसलाई पनि त्यागिदिएँ ।
दुग्ध परिकार बढी खान थालेपछि कंगनालाई एसिडिटीको समस्याले सताउन थाल्यो । त्यसपछि उनले बिस्तारै दुग्ध परिकाको खपत कम गर्न थालिन् । अहिले उनी डेयरी प्रोडक्ट ठ्याम्मै खाँदिनन् ।