अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र ‘हिफाजत’ मा पहिलोपटक नायक भई काम गरेका आयुष रिजाललाई केही बर्षदेखी दर्शकहरुले पर्दामा देख्न पाएका छैनन् । एक दर्जनबढी चलचित्रमा काम गरिसकेका आयुष रिजालका धेरै जसो चलचित्रहरु असफल छन् । लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि उनको सक्रियता अहिले नेपाली चलचित्रमा कमै छ । एक नेपाली चलचित्रको छायाँकनका व्यस्त आयुषले चलचित्र नाम के हो मा स्टण्ट म्यान भएर चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । आयुषले १८ वटा जति चलचित्रमा स्टण्ट म्यान नै भएर काम गरेका छन् । त्यसपछी उनले दर्जनौं म्युजिक भिडियो, डकुमेन्ट्री, टेलिचलचित्रमा क्यामेरा म्यान पनि भएर काम गरे । उनी राम्रो भिडियो सम्पादक पनि हुन् । उनी ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’ र ‘ढलें म ढले’ बोलको गीतबाट एक्कासी चर्चामा आएका थिए । उनले आफु स्कूले जीवनदेखी नै पैसा कमाउन थालेको बताएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा भने -‘तीनधारा संस्कृत छात्रावासमा बसेर पढ्दै गर्दा म आर्टको काम गथेँ । त्यतिवेला म प्रकाश निरौला दाइको सहायक भई काम गर्थेंँ । हाम्रोमा राजाको जन्मोत्सव, नयाँ वर्ष, दसैँका शुभकामनालगायत विभिन्न कार्यक्रमका तुल, ब्यानर लेख्ने काम आउँथे । ‘भानुभक्त’ फिल्मभित्र देखाइएको पुरानो लिपि पनि हामीले नै लेखेका हौँ ।’
उनले अगाडी भने -‘स्कुल पढ्दाखेरि नै म राम्रै पैसा कमाउथेँ। पहिलो कमाइ यति नै भनेर याद त भएन, तर मलाई पुग्दो थियो । एकातिर पढाइ, अर्कोतिर ब्यानर लेख्ने काम, सधैँ व्यस्त हुन्थेँ । ब्यानर लेख्ने काम कलेज पढ्दा पनि गरियो । त्यही कामबाट कमाएर त्यतिवेलै ५० हजारको सेकेन्डह्यान्ड बाइक चढेर हिँड्थेँ ।’
उनले डेब्यु फिल्म ‘हिफाजत’बाट भने राम्रै पारिश्रमिक पाएको बताएका छन् । ‘निर्माता छविराज ओझाले मलाई डेब्यु गराउनुका साथै राम्रै पारिश्रमिक पनि दिनुभएको थियो । ड्रेसअप र खानपिनमै सकियो ।’ उनले भने । आफ्नो मेहनत र लगनशिलताले गर्दा आज आफू यो चलचित्र क्षेत्रमा टिक्न सकेको आयुषको भनाई छ । आधा दर्जन चलचित्रमा मुख्य भुमिकामा देखिए पनि उनी आफूलाई नायक भन्न रूचाउँदैनन् ।