पर्फमिङ आर्ट क्रियशन र मगर क्रियशनको संयुक्त प्रस्तुतीमा चलचित्र ‘शिरफूल’ निर्माण हुने भएको छ । आइतबार राजधानीमा आयोजित एक समारोहबीच ‘शिरफूल’ निर्माणको घोषणा गरिएको हो ।
चलचित्र ‘शिरफूल’बाटै कमल एक्चै मगरले निर्देशनमा डेब्यु गर्दैछन् । निर्देशक कमलका अनुसार चलचित्रमा आधुनिकताको बढ्दो प्रभावसँगै युवापुस्तामा देखिएको संस्कृतिक विकृतिलाई चित्रण गरिनेछ । कार्यक्रममा बोल्दै निर्देशक कमलले भने, ‘शिरफूल नारीप्रधान चलचित्र हो । यो चलचित्रले युवापुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्छ जबकि प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको छ ।’ उनले ‘शिरफूल’ ले गाउँदेखि सहरसम्मको कथा उन्ने बताए ।
यस चलचित्रको निर्माण आर्शीवाद पुनले गर्न लागेका हुन् । ‘शिरफूल’ मा विनिता मगर, राज थापा, रुपा राना, देव आलेमगर, नीता पुन, पुजा गदल, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहने भएको छ । चलचित्रमा हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहने छ । सिद्धान्त एस.पौडेलको निर्माण नियन्त्रणमा बन्ने ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिच्दैछन् ।