यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जात्रा’ को वुधबार राजधानीको जय नेपाल हलमा भव्य रेड कार्पेट प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा चलचित्र ‘जात्रा’ का कलाकारहरु देखी चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । नायिकाद्वय वर्षा राउत र प्रेक्षा बज्राचार्य ‘जात्रा’ को रेड कार्पेट प्रिमियरको आकर्षण बनेका थिए।
‘जात्रा’ प्रिमियरमा नायिका बर्षा राउत आफ्नो आमा बुबासँगै व्वायफ्रेण्ड तथा नायक सञ्जोग कोइरालासँग देखिएकी थिइन् । त्यस्तै प्रेक्षा बज्राचार्य कालो रंगको वान पिसमा देखिँदा चलचित्रका नायक विपिन कार्कीले भने जाडोका कारण ज्याकेट लगाएका थिए ।
त्यस्तै रेड कार्पेट प्रिमियरमा ‘हजार समाउ, लाख कमाउ’ योजना अन्तर्गत भागशाली ५ विजेतालाई जात्रा टीमले पुरस्कार प्रदान गरेको थियो। चलचित्र ‘जात्रा’ मा विपिन कार्कीले प्रयोग गरेको इलेक्ट्रिक स्कुटर भिक्टोर पौडेलले हात पारे भने एक जनालाई कलर्स स्मार्टफोन, एक जोडीलाई चितवन सौराह टुर, एक जोडीलाई पोखरा टुर र एक जनालाई जात्रा टीमसँग डिनरको मौका मिलेको छ। प्रिमियरमा निर्माणपक्षले चलचित्रकर्मीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।
यो चलचित्रमा विपिन, वर्षा र प्रेक्षासँगै रविन्द्र सिंह बानियँया, रविन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणी नेपाल, प्रियंका झा, भोला राज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतको अभिनय रहेको छ। चलचित्रका कलाकार समेत रहेका रविन्द्र सिंह बानियाँ ‘जात्रा’ को कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्। चलचित्रलाई प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका हुन् ।