मंसीर १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुरानो डुंगा’ युनिट अहिले देश दौडाहामा छ । चलचित्रको प्रचारप्रसारमा कलाकारसहितको जम्बो टोली पूर्व हुँदै शनिबार चितवन पुगेको थियो ।
चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक रामबाबु गुरुङले चलचित्र ‘पुरानो डुंगा’ मा माझी दाजुभाइको कथा रहेको बताए । उनले भने -‘चलचित्रमा कास्कीको वेगनास तालवरपर रहेका माझीको कथा छ । त्यसलाई कमेडी पारिवारिक रूपमा हामीले पर्दामा उतार्ने प्रयास गरेका छौं ।’
पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र प्रियंका कार्की पनि उपस्थित थिए ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र ‘पुरानो डुंगा’ पारिवारिक रहेको बताए । उनले भने -‘पुरानो डुङ्गा दाजु भाईको सम्बन्धको कथा हो । जहाँ दाजुको सोच र भाईको सोचको बीचको द्धन्द्ध हो ।’
पत्रकार सम्मेलनमा अभिनेत्री प्रिंयकाले आफू सहरिया केटीको रूपमा प्रस्तुत भएको बताइन् । उनले भनिन्, ‘यो चलचित्रमा मलाई फरक लुकमा देख्न पाउनु हुन्छ । यस पटक चाहिँ चकचके, चटपटे, अलि नोकझोक धेरै गर्ने सहरिया केटीको भुमिकामा देखिँदै छु । यो चलचित्र एउटा इमोशनल जर्नी हो ।’ उनले चलचित्रमा आफ्नो क्यारेक्टरको नाम ‘चन्दु’ रहेको पनि बताइन् ।डुङ्गा चलाएर जीविकोपार्जन गर्ने माझी भक्ते र उसको आवरा भाइ बतासेको अंशका कारण झगडा पर्छ। त्यसपछि बतासेले डुङ्गा खोसेर लग्छन् र माझी भक्तेको परिवारमा सिर्जना हुने आर्थिक संकट चलचित्रको मुख्य कथा हो। चलचित्रमा प्रियंका, दयाहाङको अलावा माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ ।