बिहिबार साँझ कान्तिपुर टेलिभिजनमा प्रशारित कार्यक्रम ‘सुमन संग’ मा कञ्चन शर्मा रेग्मी नामक एक साधारण महिलाको अन्तर्वार्तालाई लिएर यतिबेला सामाजिक सञ्जाल निकै गर्माएको छ ।
रेडियो नेपाल, विविसी जस्ता संचार संस्थामा काम गरिसकेका पत्रकार सुमन खरेलको टक शो ‘सुमन संग’ मा राजनीतिज्ञ, सेलिब्रिटी र साधारण व्यक्तिहरुसँग सामाजिक-राजनीतिक विषयमा वार्तालाप गरिन्छ । यसै कार्यक्रमको उक्त शृंखलामा प्रस्तोता सुमन खरेलले आफ्नै पति र सन्तानले अवहेलना गरेको असहाय महिलाको रुपमा कञ्चन शर्मा रेग्मीको परिचय दिएका छन् ।
राजीखुशी विवाह भई १९ वर्षसम्म सामान्य अवस्थामा रहेको वैवाहिक सम्बन्धमा त्यसपछि दरार आउन थालेको बताएकी कञ्चनले आफु रुपवती नभएको भन्दै श्रीमानले दिनहुँ अपजस र तनाव दिन थालेपछि घर छाडेको, बेवारिसे अवस्थामा ७ वर्षसम्म सडकमा भौतारिएको, जाडो छल्न चिताको आगो तापेको जस्ता उनका दर्दनाक भोगाईको वर्णन सुन्दा धेरै दर्शकलाई मार्मिक र कारुणिक लाग्छ । “टक्सन गाडीमा चढेर हिड्ने छोरालाई फोहोरको थुप्रोबाट बाबु भनेर बोलाउदा बाई-बाई भन्छ ।” उनले यसो भन्दा धेरै दर्शकका आँखा रसाए । तर ‘सुमन संग’ मा कञ्चनले दिएका बयानहरु सबै झुटो रहेको भन्दै अहिले फेरी सामाजिक सञ्जालमा उनको चर्को विरोध पनि भइरहेको छ । कञ्चनका श्रीमान मोहन रेग्मीले पीडित आफु भएको भन्दै एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएपछि अहिले कञ्चनलाई सहानुभूती दिनेहरु पनि अहिले खुलेरै विरोध गरिरहेका छन् । तर नायिका करिष्मा मानन्धरले भने कञ्चन शर्माको समर्थन गर्दै फेसबुकमा एक स्टाटस कोरेकी छन्, जहाँ उनले सामाजिक सञ्जालमा भइरहेको विरोधमा कञ्चन मात्र दोषी नभएको भन्दै उनीप्रति माया देखाएकी छिन् ।
उनले लेखेको स्टाटस यस्तो छ :-
‘कन्चन शर्माको बारेमा सामाजिक संजालमा पढ्दा, हेर्दा मनमा अनेक कुरा खेले । अहिले आएर सहि गलत छुट्टाउने होडबाजी जस्तै लगेको देखिन्छ । जतिसुकै हामीले महिलाको हक अधिकारको र महिला सशक्तीकरणको कुरा उठाए पनि अझै पनि यो पुरुष सत्तात्मक समाज नै हो, विकसित देशमा पनि त्यही देखिन्छ । हिलारी क्लिन्टनको पराजय त्यसको उदाहरण हो । हाम्रो नेपाली समाजमा छोरी चेलीलाई कुन संस्कारमा हुर्काइन्छ त्यो हामीलाई थाहा छ त्यो अनुरुप कञ्चन पक्कै सुरु देखी त्यस्तो (जुन रुपमा उनी अहिले देखिएकी छिन) पक्कै थिइनन होला किनकि एक्लै दुई बच्चालाई जन्म दिनु तिनीहरुलाई हुर्काउन निकै कठिन पर्छ । त्यसमा आर्थिक रुपमा मात्र सहयोग गरेर पुग्दैन उहाँको श्रीमान श्रीमतीको सम्बन्धमा भावनात्मक सम्बन्धको कमी देखिन्छ । खर्च बेहोर्नुले मात्र श्रीमानको कर्तव्य सकिदैन अनि कञ्चनले पढाई जारी राख्ने कोशिस केही गर्छु भन्ने चाहना स्पष्ट देखिन्छ । कुनै पनि सम्बन्ध एकतर्फी गल्तीले मात्र विग्रिएको हुँदैन गल्ती दुबै पक्षबाट भएको हुन्छ । शहरको बसाई श्रीमान टाढाको जागीरे अनि दुइटा लालाबालाको जिम्मेवारी अनि आफ्ना केहि सपनाहरु पनि रहेछन । त्यस्तो अबस्थामा सन्तुलन कायम गर्न सबैले सक्छन् भन्ने छैन । यहाँ त्यही देखिन्छ । सायद यिनै परिस्थितिमा उनी केही कुलतमा परिन् । यस्तो अबस्थामा सायद भावनात्मक रुपमा साथ दिएको भए, माया दिएको भए आज यो स्थितिमा हुँदैन थिईन । परिवार र आफन्तले नै दुत्करे पछि सायद उनी डिप्रेसनमा गईन होला । अनि यत्रो बर्ष सडकमा भड्किएर हिडेको देखेर अलिकति दया लागेन ? छोडपत्र गरेर सबै जिम्मेवारी सकियो ? कमसे कम रिहाबमा लगेर राखिदिएको भए त हुन्थ्यो । घरमा पालेको जनावरलाई त हामी यतिक्कैछोडन सक्दैनौ । अनि कमसे कम परिवारका कसैले त केही कोसिस गर्नु पर्थ्यो होला जस्तो लाग्छ । आज उनी जुन अबस्थामा छिन मलाई लाग्छ अझै सहि मनस्थितिमा छैनन् । त्यसैले उनलाई आरोप प्रतिआरोप गर्नु भन्दा नि सडकमा परेको एउटा जीवनले छत पाएको छ, ऊसँग दुई शब्द मिठो बोल्ने साथी पाएको छ, उसलाई गलत सबित गरेर हामीले के पाउछौ र ? सके सहयोग गरौ नसके शान्तिसँग बस्न दियौं ।’