गिनिज बुकमा नाम लेखाउने तयारीका साथ निर्माण गरिएको चलचित्र ‘जालो र जालो रिटर्न्स’ को छायाँकन ४ घन्टामै खिचिएर सकिएको छ । २ चलचित्रलाई निर्देशक अराज केसवले ४ घन्टामा नै खिचेर सकाएका हुन् । यो विश्वमै पहिलो पटक ४ घण्टामा २ चलचित्र खिचिएको पहिलो रेकर्ड हो । यसअघि भारतमा ३ घन्टा २८ मिनेट ४ सेकेन्ड लामो वन सर्ट मुभि खिचिएको छ । अब उक्त रेकर्ड नेपाली दुई चलचित्र ‘जालो र जालो रिटर्न्स’ले तोडेको छ ।
वुधबार वुढानिलकण्ठस्थित उद्योगपति सुरज वैद्यको घरमा ४ घन्टा लगाएर चलचित्र खिचिएको निर्देशक अराजले जानकारी दिए । उनका अनुसार, सुटिङ सकिएसँगै यी दुई नेपाली चलचित्रको गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने प्रक्रिया पनि सुरु भएको छ । यसै साता गिनिज वल्र्ड रेकर्डलाई मेल पठाउने र दुई महिनापछि नाम लेखाउन प्रक्रिया सुरु गर्ने लेखक तथा निर्देशक अराज केशव गिरीले बताए । निर्देशक तथा लेखक अराजका अनुसार लामो समय वर्कशप गरेपछि कमर्सियल चलचित्र खिच्न सकिएको हो ।
उनका अनुसार दुबै चलचित्रको समय २-२ घन्टाको हुनेछ । हलमा भने चलचित्र ‘जालो’ पहिला रिलिज हुनेछ । यो चलचित्रमा निर शाह, लक्ष्मी गिरी, रविन्द्र खड्का, अनुपविक्रम शाही, निराज प्रधान, रेमनदास श्रेष्ठ, मुना गौचन, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ । हरी घले लामाको छायाँकन रहेको चलचित्रमा बासुदेव मुनाल, हरी लम्साल र मोहित मुनालले संगीत दिएका छन् ।