लामो समयदेखी चलचित्र निर्माण र निर्देशनमा क्रियाशिल आकाश अधिकारीले पौष २ गते हुन लागेको ‘नेपाल चलचित्र निर्माता संघ’ को १४ औँ साधारण सभामा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आकाश अधिकारीले नेपाली चलचित्र क्षेत्रको विकासका लागी आफुले उम्मेदवारी घोषणा गरेको बताए । उनले भने -‘बक्स अफिस, सेन्सर समस्या, अन्तरराष्ट्रिय लगानी, निर्माताको लगानी कसरी सुरक्षित गर्ने भन्ने नै मेरो मुल एजेण्डा हो ।’
‘अहिले नेपालमा बक्सअफिस लागु गर्न निकै आबश्यक छ । निर्माता र हल सञ्चालकहरुको हिसाब स्पष्ट पार्न पनि बक्सअफिसको खाचो छ । यस पटकको निर्माता संघको चुवानामा मेरो मुख्य एजेण्डा पनि यही हो ।’ उनले थपे ।
‘द स्काइ मुभी’ का प्रमुख समेत रहेका आकाश क्रमश निर्माता संघको महासचिव र उपाध्यक्ष भइसकेका छन् । चलचित्र विकास बोर्डले गठन गरेको ‘बक्स अफिस समिती सदस्य’को रुपमा समेत काम गरिसकेका आकाशले निर्माता संघलाई सही नेतृत्व दिन आवश्यक रहेको पनि कार्यक्रममा बताए ।
आकाश अधिकारीले पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानलको घोषणा पनि गरेका छन् । आकाशको प्यानलमा उपाध्यक्ष पदको उम्मेदवारको टुंगो भने अहिले नै लागिसकेको छैन । तर महा-सचिवमा छविराज ओझा, सचिवमा गोविन्द शाही, कोषाध्यक्षमा सुशिल पोख्रेलको उम्मेदवारी परेको छ । त्यस्तै, यहि प्यानलबाट सदस्यहरुमा करिश्मा मानन्धर, दिपकराज गिरी, चेतनाथ सापकोटा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, निकिता पौडेल, योगेश घिमिरे, रौनक विक्रम कँडेल र भानु प्रतापको उम्मेदवारी परेको छ ।
आकाशले निर्माता संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै निर्माता संघको चुनावी सरगम सुरु भएको छ ।
‘सिनेखबर डटकम’ लाई प्राप्त जानकारी अनुसार, निर्माता संघका वर्तमान महासचिव केशव भट्टराई र द्धितिय उपाध्यक्ष रोज राणा पनि अध्यक्षमा उम्मेदवार दिने तयारीमा रहेका छन् । अहिलेसम्म उनीहरुले भने आफ्नो प्यानलको घोषणा गरिसकेका छैनन् ।