हो सही पढ्नु भयो, जुन चलचित्रबाट प्रेम झाँगिएको थियो त्यही चलचित्र रिलिज अगाडी नै नायक आमेश भण्डारी र नायिका नीता ढुंगानाको प्रेम खोलाको दुई किनारा भइसकेको छ । त्यो चलचित्र हो ‘तँ म र ऊ’ । यो चलचित्रको छायाँकनसँगै नीता र आमेशको प्रेमले पूर्ण रुप लिएको थियो । नीता र आमेशले एकसाथ अभिनय गरेको यो पहिलो चलचित्र भएपनि रिलिजमा भने दोस्रो हुनु पर्यो । विभिन्न कारणले प्रदर्शनमा ढिलाई भएपछि नीता र आमेशले अभिनय गरेको अर्को चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पहिला प्रदर्शन भयो । तर प्रदर्शनमा आएको पहिलो चलचित्रले नै नराम्रैसँग धोका दिएपछि नीता र आमेशको प्रेम पनि खोलाको दुई किनारा हुन पुग्यो ।
‘फूलै फूलको मौसम तिमीलाई’ रिलिज बेला नीता र आमेशको प्रेमले एकपटक त नेपाली सिनेवृत पनि मज्जैले तातेको थियो तर अहिले उनीहरुको प्रेममा पूर्णविराम लागिसकेको छ । तर उनीहरुले अभिनय गरेको चलचित्र ‘तँ म र ऊ’ ले आजबाट भने नेपाली हलहरुमा प्रदर्शन आरम्भ गरेको छ । तपाईले यो चलचित्रको नाम खासै सुन्नु नभएपनि आमेश र नीताले एकसाथ अभिनय गरेको यो पहिलो चलचित्र हो । नीता र आमेशको ब्रेकअप भएपछि यो चलचित्रको पव्लिसिटीमा निर्माणपक्षले उनीहरुलाई दौडाउन सकेन, जसको फलस्वरुप चलचित्रको प्रचार प्रसारलाई निर्माणपक्षले आक्रामक बनाउन सकेनन र एक्कासी हलमा लाग्यो । अब हेर्न यो बाँकी छ कि प्रेममा रहँदा रिलिज भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ ले बक्सअफिसमा कमाल नगरे पनि ब्रेकअपपछिको चलचित्र ‘तँ म र ऊ’ ले कस्तो कमाल गर्ने हो ? नवराज प्रसाईको निर्माण, सुदिन प्रसाईको लेखन रहेको चलचित्र ‘तँ म र ऊ’ मा सुदिन प्रसाई, नीता ढुँगाना, आमेश भण्डारी, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, अञ्जना आरसी, पुर्णिमा क्षेत्री लगायत बाल कलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महिला निर्देशक लछु गौतमले निर्देशन गरेकी हुन् ।
यो चलचित्रसँग अर्को पनि नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ, त्यो हो ‘विजुली मेशिन’ । यो चलचित्रले आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथा पेश गरेको छ । नविन अवालको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिका छन् भने नायक राजेश हमालको पनि विशेष भुमिका रहेको छ ।
चलचित्र ‘तँ म र ऊ’ र ‘विजुली मेसिन’ ले नेपाली बक्सअफिसमा कमालको विजनेश गर्लान वा नगर्लान त्यो भने आजबाट नै थाहा हुनेछ । दुवै चलचित्र सिंगल हल लक्षित भएका कारण मल्टिप्लेक्समा भने गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ‘पुरानो डुङ्गा’ र चौथो हप्तामा प्रदर्शनरत चलचित्र ‘जात्रा’ लाई गज्जबकै फाइदा हुने देखिन्छ ।