उमेरले ४२ बर्ष भइसकेकी छिन् अभिनेत्री करिश्मा मानन्धर । यति मात्र होइन उनकी छोरी नै अब नेपाली चलचित्र खेल्न योग्य समेत भइसकेकी छिन् । उमेरले आधा बाटो काटिसकेकी अभिनेत्री करिश्माको सुन्दरता अझै पनि नेपालका अन्य नायिकाहरुको भन्दा कम छैन । उनलाई देखेपछि सुन्दरताको बयान नगर्ने त सायदै होलान । उमेर खस्कदै गएपनि उनको सुन्दरता र पहिरनले अहिले पनि सबैको ध्यान खिच्ने गर्छ । वि.सं. २०४२ सालमा बनेको चलचित्र ‘सन्तान’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी करिश्मा पछिल्लो समय भने राजनीतितर्फ पनि बढी समय खर्चदै गएकी छिन् । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालकी नेत्री समेत रहेकी करिश्मालाई शनिबार काठमाडौंमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’ मा फरक रुपमा देखियो । प्राय अन्य कार्यक्रममा देखिने करिश्मालाई कामना अवार्डमा सबैले देवीको अवतारमा देखे । किनकी उनको पहिरनले यस्तै झल्को दिन्थ्यो । कपालमा सेतो गजरा, कानमा झुम्का, नाकमा नथिया, निधारमा रातो टिका, रातो रंगको ब्लाउज र पारी रातो भएको सेतो साडीमा जब करिश्मा कामना फिल्म अवार्डको कार्यक्रम स्थलमा झुल्किइन तब त्यहाँ उपस्थित सबैको ध्यान नखिच्ने त कुरै भएन । उनका अनुसार उक्त पहिरन बंगाली हो । मिडियासँग फोटो खिचाउँदै गर्दा करिश्माले भनिन्, ‘निकै गाह्रो हुँदो रहेछ । पहिलो पटक बंगाली साडी लगाएकी हुँ ।’ उनको उक्त पहिरनको अगाडी अवार्डमा सहभागी हुन पुगेका अन्य नायिकाहरुको फेशन नै फिक्का लागेको थियो । बंगाली साडीमा करिश्मा जति सजिएकी थिइन त्यति नै उनलाई उक्त पहिरन सम्हाल्न गाह्रो भइरहेको देखिन्थ्यो । कामना अवार्डमा करिश्माले आफ्ना फेशन डिजाइरलाई पनि साथमा लिएर आएकी थिइन । जति बेला करिश्मालाई बंगाली साडीले गाह्रो महशुस गराउँथ्यो त्यति बेला उनलाई फेशन डिजाइनरले सहयोग गर्ने गरेका थिए । नायिका करिश्माले ‘कामना अवार्ड’ को अन्तिम घडीसम्म बसेर साथ दिएकी थिइन ।