मंसीर १० गते प्रदर्शनमा आएको चलचित्र ‘पुरानो डुङ्गा’ मा मुख्य भुमिका निर्वाहा गरेको नायक दयाहाङ राई अभिनित अर्को चलचित्र ‘सेतो सूर्य’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । दयाहाङ अभिनित चलचित्र ‘पुरानो डुङ्गा’ ले प्रदर्शनको दुई हप्ता पार गर्दै गर्दा ‘सेतो सूर्य’ ले आफ्नो प्रदर्शन आरम्भ गरेको हो । दयाहाङको ‘सेतो सूर्य’ सँग अर्को चलचित्र ‘पार्सल’ पनि आजबाटै देशव्यापी प्रदर्शनमा उत्रिएको छ । मल्टिप्लेक्स लक्षित चलचित्र ‘सेतो सूर्य’ र सिंगल हल लक्षित चलचित्र ‘पार्सल’ मध्ये कसको पल्लाभारी हुने हो त्यो भने आजबाट नै थाहा हुनेछ ।
केही दिन अगाडी सिंगापुरमा आयोजना भएको फिल्म फेस्टिभलमा चलचित्र सेतो सूर्यले सिल्भर स्क्रिन अवार्डसँगै ५० हजार सिंगापुर डलर पनि पुरस्कार जितेको थियो । यो चलचित्रलाई ‘हाइवे’ निर्देशन गरेका दीपक रौनियारले यसलाई निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङका अलवा आशा मगराती, रविन्द्र सिंह बाँनिया, सुमी मल्ल, अमृत परियार लगायतका कलाकारको मुख्य भूमिका छ ।
त्यस्तै यो चलचित्रसँग प्रदर्शनमा आएको अर्को चलचित्र ‘पार्सल’ मा भने नीता ढुंगाना, किशोर खतिवाडा, प्रेम सुब्बा, प्रभु श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । किशोर सम्वाहाम्फे लिम्बूको निर्माण तथा रबिन श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘पार्सल’ लाई युवराज राईले खिचेका हुन् । यि दुई नेपाली चलचित्रसँग आज शुक्रबारबाट बलीउड चलचित्र ‘बेफिक्रे’ पनि प्रदर्शनमा आएको छ । मल्टिप्लेक्सहरुमा मात्र प्रदर्शनमा आएको चलचित्र ‘बेफिक्रे’ ले नेपाली चलचित्र ‘सेतो सूर्य’ सँग राम्रै प्रतिस्पद्र्या गर्ने देखिन्छ ।