अभिनेत्री बिपासा बसुले आफ्ना पति करण सिंह ग्रोवर निकै रोमान्टिक भएको बताएकी छिन् । हालै स्टार स्क्रिन अवार्डमा देखिएकी बिपासाले पति रोमान्टिक र आफू व्यावहारिक भएकाले अहिले सोचेभन्दा पनि राम्रो तरिकाले घरजम चलिरहेको बताइन । ३७ वर्षीया बिपासा र करणले गएको अप्रिलमा बिहे गरेका हुन् । तर, पछिल्लो समय उनीहरूको सम्बन्ध त्यत्ति राम्रो नरहेको खबर पनि आउने गरेका छन् । यसबारेमा पनि बिपासाले जवाफ दिइन् । ‘म पत्रिका पढ्दिनँ । तर, मैले नपढ्दैमा अफबाह आउन छाड्छ भन्ने पनि होइन । अहिले त सोसल साइटमा सबै कुरा आइहाल्छ । बाहिर के आउँछ मलाई मतलव लाग्दैन । किनभने हामी भित्रैदेखि मजबुत छौँ ।’ बिहेअघि बिपासा र करण एलोन फिल्ममा सँगै देखिएका थिए । अब फेरि उनीहरू सँगै पर्दामा देखिने चाहना राख्छन् । बिपासाका अनुसार उनीहरूलाई थुप्रै फिल्मबाट अफर आइरहेका छन् । केहीमा समय त केहीमा पारिश्रमिकको कुरा नमिलेर साइन नगरेको दाबी उनको छ ।