मेगास्टार रजनीकान्तको आज ६६ औ जन्मोत्सव । १२ डिसेम्बर, १९५० मा बेंगलुरुमा जन्मिएका रजनीकान्तले आफ्नो फिल्म करियरको सुरुवात बालाचन्दर निर्देशित तमिल चलचित्र ‘अपूर्वा रागंगाल’ (१९७५) बाट गरेका थिए । यो चलचित्रमा उनी खलनायक बनेका थिए । यो चलचित्रले राष्ट्रीय पुरस्कार पाएको थियो । करियरको सुरुवातमा उनले अधिकांश चलचित्रमा खलनायकको भूमिका निर्वाहा गरेका थिए । तेलुगु चलचित्र छिलाकाम्मा चेप्पिनडीमा उनलाई मुख्य भूमिका निर्वाहा गर्ने मौका मिल्यो । त्यसपछि उनले आफ्नो करियरलाई कहिले पनि पछाडी फर्किएर हेर्नु परेन । केही बर्षमा नै उनी तमिल सिनेमाका सुपरस्टार बने । उनले बलीउड चलचित्रमा समेत काम गरेका छन् । उनले गिरफ्तार, मेरी अदालत, दोस्ती दुश्मनी, इंसाफ कौन करेगा, असली नकली, हम, खून का कर्ज, जान जॉनी जनार्दन, भगवान दादा, क्रांतिकारी, अंधा कानून, चालबाज, इंसानियत का देवतासहित कयौं चलचित्रमा काम गरेका छन् । आजबाट ६६ बर्षमा लागेका रजनीकान्तलाई जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । तर, उनले यसपाली भने औपचारिक रुपमा जन्मदिन नमनाउने भएका छन् । तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनका कारण उनले जन्मदिन नमनाउने निर्णय गरेका हुन् । रजनीकान्तको जन्मदिनका अवसरमा अभिनेता अभिताभ बच्चनले शुभकामना दिएका छन् । अभिताभले सामाजिक सञ्जाल ट्वीटर मार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।