गएको भदौ महिनामा आयोजना भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुनका लागि काठमाडौं आएका बलीउड अभिनेता तथा भारतीय जनता पार्टीका सांसद शत्रुघन सिन्हा (खामोस) पुनः नेपाल आएका छन् । वुधबार दिउँसो उनी नेपालको त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनले पत्रकारहरुसँग कुराकानी गर्दै पुनः नेपाल आउन पाउँदा खुसी महशुस गरिरहेको बताए । तीन महिना नवित्दै किन आए त फेरी शत्रुघन सिन्हा नेपालमा ? यदी यो प्रश्न तपाईको मनमा खेलिरहेको छ भने बताइदिउँ कि उनी उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीको ‘इन्गेजमेन्ट’ मा सहभागी हुनका लागि काठमाडौं आएका हुन । भारतीय व्यवसायीको छोरीसँग वरुणको बिहीबार ‘इन्गेजमेन्ट’ हुँदैछ । आउँदो अप्रिल २१ तारिखमा वरुणको विवाह हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । गएको भदौ महिनामा पनि शत्रुघन विनोद चौधरीकै निमन्त्रणामा नेपाल आएका थिए । भोली विहान उनले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।
शत्रुघनले देव आनन्दको चलचित्र प्रेम पुजारीबाट फिल्मी यात्रा सुरु गरेका हुन्। उनि अभिनित पहिलो प्रदर्शित चलचित्र सन् १९६९ को ‘साजन’ हो। सन् ७० र ८० को दशकमा बलिउडमा छाएका उनी पछिल्लो समय माहुवा च्यानलमा कौन बनेगा करोडपतिको भोजपुरी संस्करण कार्यक्रम सञ्चालन गर्दछन्। उनले दुई चलचित्रको निर्माण पनि गरेकी छन्।