हास्यटेलिश्रृखला ‘तितो सत्य’ मा ‘म हुँ लाजालाम’ भन्दै दर्शकहरुलाई पेट मिची मिची हँसाउने हास्यकलाकार आरपी भट्टराईको निधन भएको आज १२ औं दिन भएको छ । वाह्रौ दिनको पुण्य तिथीमा आज काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा फूलको गुच्छा तथा माला अर्पण गर्दै कलाकारहरुले आरपी भट्टराईलाई सम्झिएका छन् । हास्यकलाकार दीपाश्री निरौला र दीपकराज गिरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा हास्यकलाकार हरिवंश आचार्य, बसुन्धरा भुषाल, जीतु नेपाल, मनोज गजुरेल, नारद खतिवडा, संदिप क्षेत्री, उज्ज्वल घिमिरे, सरिता लामिछाने, बर्षा राउत लगायतका कलाकारहरु सहभागी भएका थिए । श्रद्धाञ्जली सभामा हरिवंश आचार्य, दीपक-दीपा लगायतका कलाकारहरुले आरपीलाई सम्झदै उनको प्रशंसा गरेका थिए ।
कलाकार दीपाश्रीले आरपीलाई सम्झँदा भक्कानिएकी थिइन । दीपाश्रीले चलचित्रको काम गर्दा सबैभन्दा बढी गाली आरपीलाई आफैले गर्ने गरेको बताइन । उनले भनिन्, ‘म आरपी दाईलाई सधै धेरै नखानु भनेर गाली गर्थें । काममा अलि ढिलो आउँदा पनि म गाली गर्थें । जब आरपी दाईको निधन भएको थाहा पाएँ तब मैले सोचे कि कसैलाई गाली गर्नु हुँदैन रहेछ । को कति खेर संसार छोडेर जान्छ कसैलाई थाहा हुँदैन अनि आफुलाई आत्मग्लानि भइरहन्छ ।’ दीपाले आरपी भट्टराई एक सशक्त कलाकार रहेको पनि बताइन ।
आरपी भट्टराईको मृत्यु मंसीर २४ गते शुक्रबार विराटनगरमा फूपूको घरमा भएको थियो । ४२ बर्षका आरपीले केही कमेडी गीतहरु पनि गाएका छन् । उनका एक श्रीमती र २ छोरा छन् ।