अमिताभ बच्चन, शाहरुख खान, जुही चावला लगायतका कलाकारहरुको अभिनय रहेको बलीउड चलचित्र ‘भुतनाथ’ निर्देशन गरेका विवेक शर्माले ‘मेरो पैसा खोई ?’ नामक नेपाली चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रमा बर्षा सिवाकोटी, सौगात मल्ल, सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायतका कलाकारहरु फाइनल भइसकेका छन् तर निर्माणपक्षले चलचित्रको लागि अर्की लीड नायिकाको पनि खोजी गरिरहेको थियो । त्यही क्रममा नायिका बर्षा राउत चलचित्र ‘मेरो पैसा खोई ?’ मा फाइनल भएकी छिन । निर्देशक विवेक शर्माले केही हप्ता अगाडी मात्र बर्षा अभिनित चलचित्र ‘छक्का पन्जा’ हेरेका थिए, त्यसपछि उनको फ्यान भए विवेक । जस कारण पनि बर्षा ‘मेरो पैसा खोई ?’ मा फाइनल भएकी हुन । खबरका अनुसार, विवेक शर्माले बर्षाको अडिसन पनि लिएका थिए ।
‘केहीदिन देखी बर्षासँग चलचित्रको विषयमा कुराकानी भइरहेको थियो’, चलचित्रका निर्माता रोज राणाले भने -‘पारिश्रमिकमा कुरा नमिलेका कारण फाइनल गरेका थिएनौं । तर, बर्षाले मागेकै जति पारिश्रमिक दिएर हामीले उनलाई चलचित्रको लागि फाइनल गरेका छौ ।’यो चलचित्रमा बलीउड अभिनेत्री जुही चावला, संजय मिश्रा तथा राजपाल यादवले पनि अभिनय गर्नेछन् । यो चलचित्रको छायाँकन माघको १५ गतेबाट सुरु हुनेछ । चलचित्रमा मौनता श्रेष्ठको पटकथा, बसन्त सापकोटाको संगीत, चन्द्र पन्तको एक्सन, हरि घलेले छायांकन र दयाराम पाण्डेले गीतको शब्द कोरेका छन् । काठमाण्डौ, पोखरा, जोमसोम, वुटवल लगायतका क्षेत्रमा खिचिने यो चलचित्र नेपाली र हिन्दी भाषामा डबिङ गरिनेछ । निर्देशक शर्माका अनुसार कमेडी जनरामा चलचित्र बन्नेछ, जसमा मान्छेको जीवनमा पैसाले पर्ने प्रभावलाई प्रस्तुत गरिनेछ ।