कुनै समय नेपाली गीतहरुमा एउटै मात्र गायकको आवाज सुन्न पाइन्थ्यो, ति गायक थिए उदीत नारायण झा । नेपालको सप्तरी जिल्लामा जन्मिएका गायक उदीतका स्वरहरु अझै पनि केही नेपाली चलचित्रका गीतहरुमा सुन्न पाइन्छ तर पहिलेका तुलनामा भन्दा धेरै कम । जब उनी नेपाल छोडेर छिमेकी मुलुक भारतमा आफ्नो करियर खोज्दै सपरिवारसहित बस्न थाले त्यसपछि देखी उनले नेपाली गीतभन्दा बढी हिन्दी गीतहरुलाई नै प्राथमिकतामा राखे । केही बर्ष अगाडी यस्तोसम्म खबर बाहिर आएको थियो कि जति बेला उदीत नारायण हिन्दी गीतहरुमा लगालग व्यस्त थिए त्यस बेला उनी नेपाली गीतहरु गाउन अस्वीकार गर्ने गर्थे ।
तर, विस्तारै भारतमा पनि उनको करियर डुव्दै गएपछि अहिले भने उनी नेपाली गीत गाउन हिच्किचाउँदैनन् । उनले केही महिना अगाडी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘किस्मत २’ मा समाबेश ‘तिमी आकाशबाट झरेकी अप्सरा’ बोलको गीत गाएका थिए, जुन निकै चर्चित बन्यो । चैतमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’ मा पनि उदीतले आफ्नो आवाज मिसाएका छन् । पछिल्ला केही बर्षयता जति पनि गीतहरुमा उदीत नारायणले आवाज भरेका छन् ति सबै भारतमा नै रेकर्ड गरिएका हुन् ।
नेपाली गीत मात्र होइन उदीतले हजार भन्दा बढी हिन्दी गीतहरु पनि गाएका छन् । एकसमय उनको आवाजमा बलीउड नै नाच्ने गर्थ्यो । उदीतको आवाज आफ्ना चलचित्रका गीतमा भर्नका लागि बर्षौसम्म भारतीय निर्मातादेखी संगीतकारहरु लाइनमा बस्ने गर्थे तर अहिले उनको दैनिकी हेर्दा लाग्छ उनको हातमा एउटै पनि काम छैन । यो हामीले भनेका होइनौं केही दिनदेखी भारतीय मिडियाहरुमा यही मात्र खबर भाइरल बनिरहेको छ कि नेपाली गायक उदीत नारायण झाको हातमा कुनै पनि काम छैन ।
‘बलीउड भाष्कर’ मा प्रकाशित एक समाचारमा लेखिएको छ ‘६१ बर्षिय बलीउडका पपुलर सिंगरमा गानिने उदित नारायण अहिले कमै फिल्मका गीतहरुमा गाउने गरेका छन् । १९८० मा उनले आफ्नो करियरको सुरुवात मोहम्मद रफीको भारतीय फिल्म ‘उनीस-बीस’ का गीतबाट सुरु गरेका थिए ।
‘फूल और कांटे’, ‘दिल’, ‘आशिकी’, ‘जो जीता वही सिंकदर’ जस्ता केही फिल्महरुमा उनले प्लेब्याक सिंगिंग पनि गरेका थिए । कुनै समय एकदिन फुर्सद नरहने उदीत नारायणलाई अहिले बर्षमा दुईटा हिन्दी गीत मिल्न पनि मश्किल छ ।’ उनले २०१६ मा मात्र दुई फिल्म ‘जय गंगाजल’ र ‘अना’ का गीतमा आफ्नो आवाज रेकर्ड गराएका थिए तर यी गीतमा मिसाएको उदीतको आवाजले कमाल गर्न सकेन ।