निर्माता तथा निर्देशक करन जोहर रोमान्टिक फिल्म बनाउन माहिर मानिन्छन् । फिल्ममा जोडीको विशेष प्रेम दर्साउने जोहर आफैं भने एक्ला छन्। उनी हालसम्म अविवाहित नै छन्। यस विषयमा कुरा गर्दा उनले विवाह आफ्नो जीन्दगीको पाटो नै नभएको बताएका छन्। भारतीय समाचारमाध्यमसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले धेरैलाई विवाह गरेर खुसी नभएको देखेको छु। म भाग्यमानी छु कि विहे न मेरो भाग्यमा छ, न त सोच मै छ। मेरो सम्बन्ध मेरो कम्पनीसँग छ र मेरा हरेक फिल्म मेरा बच्चा हुन्। सायद यही कारणले म धेरै खुसी छु। मलाई विहे नगरी खुसी रहने आशिर्वाद मिलेको छ।’ विहे र बच्चाकै कुरामा उनले आफू बाबु नबनेको कुरामा पनि केही गुनासो नभएको बताएका छन्। उनले बलिउडमा प्रवेश गराएका आलिया भट्ट, बरुण धवन, पुनीत मल्होत्रा, आयान मुखर्जी, करण मल्होत्रालाई आफ्नै बच्चा ठानेको बताएका छन्। उनले भने, ‘मेरा यति धेरै छोराछोरी छन् कि मलाई बाबु नहुनुको दुःख नै हुँदैन।’