लामो समयदेखी विभिन्न कारणले विवादमा तानिदै आएको नेपाल चलचित्र निर्माता संघले नयाँ नेतृत्व पाएको छ । आज शुक्रबार चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न निर्माता संघको साधारण सभाबाट अध्यक्षमा निर्माता एवं निर्देशक आकाश अधिकारी निर्विरोध विजयी भएका छन् ।
यस्तै, उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले निर्विरोध विजयी हुँदा निर्माता केशव भट्टराइलाई भने वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ ।
यसअघि भट्टराई संघको महासचिव थिए । यस्तै, निर्माता संघको महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल पनि निर्विरोध विजयी भएका छन् । सदस्य पदमा पनि ९ जना निर्विरोध विजयी भएको अध्यक्ष अधिकारीले जानकारी दिए । आजकै साभारण सभाले विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष पद थपिएको छ भने सदस्य संख्या ११ जना पुराएको छ ।
संघको सदस्यमा भने करिश्मा मानन्धर, रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के. खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल निर्विरोध विजयी भएका छन् । विधान संसोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ । यस्तै, अन्य २ जना सदस्यलाई नयाँ कार्यसमितिले मनोनित गर्नेछ । प्राय निर्माता संघको चुनावमा विवाद देखिने गरेतापनि यस पटक भने सबै पदमा सर्वसम्मत भएको छ । केही निर्माताहरुले राजकुमार राई अध्यक्ष रहँदा आर्थिक हिनामिना भएको आरोप लगाउँदै संघ छोडेर नयाँ निर्माता संघ गठन गरेका थिए । त्यसबेला देखी झन विवादको चंगोलमा थियो निर्माता संघ । तर, निर्माता संघको साधारण सभाबाट सबै पदमा सर्वसम्मत भएपछि यसले अहिले अन्य संघहरुलाई पनि सर्वसम्मतकै बाटो रोज्न पनि सन्देश दिएको छ । निर्माता संघको अध्यक्षमा निर्विरोध विजयी भएका आकाश अधिकारीले आफ्नो कार्यकालमा बक्स अफिस लगायतका एजेन्डा मुख्य प्राथमिकतामा रहने बताए ।
आकाश अधिकारीले भने,’धेरै एजेण्डाहरु संकलन गरिएर राखिएको छ । मैले आज भन्दा डेढ महिना अगाडी नै १७ बुँदामा मेरो एजेण्डा सार्वजनिक गरिसकेको थिए । त्यस मध्ये कसलाई पहिलो प्राथमिकता दिने भन्ने कुरा अब बस्ने नयाँ कार्यसमितिको बैठकले निर्णय गर्नेछ । मेरो तयारी चाहिँ अब बक्सअफिस यथासिघ्र लागु गर्नु नै हुनेछ ।’