नायक कर्मा शाक्य नेपाली चलचित्रको पर्दामा खासै सफल नायकको रुपमा गनिदैनन् । ‘लुट’ लगायतका केही चलचित्र मात्र होलान् जसले सफलता हासिल गरेका हुन, नभए त उनी अभिनित प्राय सबै चलचित्रहरु असफल नै छन् । ‘सानो संसार’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक कर्माले हालसम्म भिसा गर्ल, एक दिन एक रात, रेशम फिलिलि, नयाँ धारको सिनेमादेखि पुरानो धारको निर्देशक तुलसी घिमिरेको मृगतृष्णालगायत झण्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । रंगमञ्ज हुँदै चलचित्रको पर्दामा भित्रिएपनि अहिलेसम्म जुन अनुसारको सफलता पाउनु पर्ने हो त्यो भने कर्माले हात पारिसकेका छन् । उनीसँगैका सौगात मल्ल र दयाहाङ राईले अहिले नेपाली बजारमा आफ्नो छुट्दै क्रेज बनाइसकेका छन् । तर, जति बेला आफ्नो चलचित्र आउँछ त्यति बेला मात्र दर्शक माझ पुग्ने कर्माको स्वभाव अहिले उनी आफैलाई घातक बनिरहेको छ ।
कहिले बर्षमा एउटा पनि चलचित्र रिलिज नहुँदा र रिलिज भएका चलचित्रहरु पनि लगातार फल्प हुँदा उनलाई धेरैले ‘अन्डररेटेड’ भन्ने गरेको कुरा कर्मा स्वयं मिडियामाझ भन्न हिच्किचाउँदैनन् । किन यस्तो भन्छन् त ? भन्ने प्रश्नमा कर्मा भन्छन्, ‘सायद म धेरै मिडियामा नआउने र चलचित्रहरु पनि खासै सफल नभएका कारण पनि हुनसक्छ । तर, मलाई यस्तो भनेकोमा कुनै दुख लाग्दैन ।’उनी अभिनित चलचित्र ‘भ्रम’ पुष २२ गते र पुष २८ गते ‘लभ साशा’ प्रदर्शनमा आउँदैछन् । कहिले बर्षमा एउटा चलचित्र पनि रिलिज नहुने, कहिले हप्ता ननाघ्दै दुई चलचित्र एकपछि अर्को हलमा लाग्ने तयारीमा रहँदा अहिले कर्माको दौडधुप राम्रै छ । उनलाई डर पनि छ एउटा चलचित्रबाट राम्रो रेस्पोन्स आएन भने अर्को चलचित्रलाई असर त पर्ने होइन् ? तर कर्मा भन्छन्, ‘अहिले दर्शकहरु कुन चलचित्र हेर्ने र कुन चलचित्र नहेर्ने त्यो छुट्याउन सक्छन् । कसैलाई लभस्टोरी मन पर्छ, कसैलाई हरर मन पर्छ, कसैलाई कमेडी मनपर्छ, कसैलाई एक्शन चलचित्र मन पर्छ, त्यसैले पनि ‘भ्रम’ र ‘लभ साशा’ फरक कथावस्तुमा तयार भएका कारण दर्शकहरुले दुवै चलचित्रलाई मनपराउनु हुनेछ ।’
सिनेवृतमा एउटा हल्ला पनि छ, यदी कर्मालाई चलचित्र खेलाउने हो भने इन्टीमेट सीन लेख्दै नलेखे हुन्छ ? तर, यो कुरा गलत हो भन्छन् कर्मा । उनी भन्छन्, ‘त्यस्तो होइन । म एउटा कलाकार भएपछि यो गर्ने यो नगर्ने भन्ने हुँदैन । निर्देशकले चलचित्रमा जति माग्छन् त्यो म दिन्छु । यदी कथाले मागे न्यूड हुनु पनि म तयार छु ।’
केही महिना अगाडी उनी अभिनित चलचित्र ‘लुकामारी’ प्रदर्शनमा आएको थियो । उनले यो चलचित्रमा नायिका सुरविना कार्कीसँग एक इन्टीमेट सीन दिएका थिए । उक्त दृश्य दिँदा उनी खुबै लजाएको भन्ने हल्ला चलेको थियो । यस विषयमा उनी थप्छन्, ‘ति हल्लाहरु गलत हुन । मैले उक्त चलचित्रमा जति दिनु पर्ने थियो त्यो दिएको छु ।’ उनले अबको एक-दुई बर्षमा एक चलचित्र निर्माण गर्ने सोचमा रहेको समेत बताएका छन् ।