हलिउड अभिनेत्री क्यारी फिसरको निधन भएको भोलिपल्टै उनकी आमा डेबी रेनोल्ड्सको पनि निधन भएको छ। गायक एडी फिसरकी पत्नी डेबी रेनोल्डस् पनि हलिउड अभिनेत्रीका साथै गायिका र व्यापारी हुन्। उनले करिब ६५ वर्ष हलिउडमा सफल यात्रा गरेकी थिइन्। सन् १९५० को थ्री लिटल वर्ड्समा हेलेन केनको भूमिकाबाट चर्चा पाएकी डेबीले सन् १९५९ मा आफ्नो पहिलो गीति एल्बम ‘डेबी’ निकालेकी थिइन्।
चर्चित हलिउड फिल्म सिरीज ‘स्टार वार्स’ मा राजकुमारी लियाको भूमिका निभाउँदै आएकी उनको छोरी क्यारीको हृदयघातका कारण ६० वर्षको उमेरमा मंगलबार निधन भएको थियो। यसको भोलिपल्ट बुधबार डेबीको पनि निधन भएको उनका छोरा टड फिसरले बताएका हुन्।