अभिनय तथा लेखन कार्यमा सक्रिय अभिनेत्री ट्विङकल खन्नाले थोरै रकममा भारतका विभिन्न गाँउमा लोकल स्यानिटरी प्याडको प्रयोगलाई प्रोत्साहन गर्ने पद्मश्री अरुणचनलम मुरुगानाथमको कथामा फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन् । उनले ट्विटर मार्फत ‘प्याड म्यान’ बनाउने बताएकी हुन्।
खन्नाले फिल्म निर्माण घोषणा गरेसँगै बलिउड दर्शकले अक्षय कुमारको अभिनय रहने अनुमान गरेका थिए । तर, निर्देशक आर बल्कीले फिल्ममा तामिल अभिनेता रहने बताएपछि अक्षय फ्यान निराश थिए। अक्षय कुमारले पनि उनी श्रीमतीको निर्माणमा बन्ने फिल्ममा अभिनय नगर्ने स्पष्ट पारे ।
अक्षयले भने, ‘मेरी श्रीमतीले मलाई घरभित्र नै धेरै माया गर्छिन्। उनी मलाई आफ्नो फिल्ममा चाहदिनन्। म पनि चाहन्छु ट्विङकल कमफर्ट जोन छोडेर घर बाहिर पनि निस्कोस्।’
केही भारतीय मिडियाहरुले भने तामिल अभिनेता फिल्म ‘प्याड म्यान’ मा रहने जनाएको थियो। तर, पुन : निर्देशक आर बल्कीले अक्षयले नै फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने घोषणा गरेको हिन्दुस्तान टाइमसले जनाएको छ। बल्कीले भने, ‘अक्षयको फिल्म हो र अक्षय नै फिल्ममा देखिन्छ।’