फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुट २’ मा समाबेश ‘ठमेल बजार’ बोलको आइटम गीतमा निर्देशक निश्चल बस्नेतले मोडल एलिसा राईसँग नृत्य गरेको त हेर्नु भएको नै छ होला । यो गीत हेरेपछि निर्देशक बस्नेत चलचित्र निर्देशनमा मात्र होइन नृत्यमा पनि उतिक्कै अब्बल छन् भन्ने पृष्टि गरेको थियो । ‘ठमेल बजार’ बोलको गीतमा निश्चलको नृत्य हेरेका दर्शकहरुले ‘पर्व’ नामक चलचित्रको एक आइटम गीतमा हट नायिका माला लिम्बुसँग कम्मर मर्काएका छन् । केही दिन अगाडी मात्र सुट गरिएको चलचित्र ‘पर्व’मा समाबेश ‘काले दाइ’ बोलको आइटम गीतलाई निर्माणपक्षले माघे संक्रन्तिलाई लक्षित गर्दै सार्वजनिक गरेको हो । छायांकन भएको एक सातामै चलचित्रको गीत बजारमा आएको खासै देखिदैन । चैत्र २५ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यसैले, पनि निर्माणपक्षले गीतलाई प्रचारको मुख्य साधन बनाएर बजारमा ल्याएको हो ।
टीभी फिल्मको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्रको निर्माण भएको हो । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् । सार्वजनिक गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरिरहेका छन् । निकिता पौडेल र सुवास गिरीले मिलेर यो चलचित्र बनाएका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचेका हुन् । सस्पेन्स–थ्रीलर कथामा यो चलचित्र निर्माण गरिने निर्देशक राउतले बताए ।